काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन्। 

मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ। सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सबै मधेसवादी दल एउटै झन्डामुनि आउनुपर्ने प्रस्ताव गरे। 

उनले भने, ‘विगतमा मसहित अन्य मधेसी नेताहरूबाट भएको गल्ती बिर्सेर अब पार्टी एकता गर्नुपर्ने आवश्यकता छ।’ 

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले पनि आफू विनासर्त पार्टी एकता गर्न तयार रहेको बताए। तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि सबै मधेसवादी दल एक बनाउन आफू अग्रसर रहेको बताएका थिए। मधेसवादी दलहरू एक भएको दिन मधेसी समुदायको आधा माग पूरा हुने उनको भनाइ छ। 

‘मधेसका युवा, बुद्धिजीवी तथा आमजनताको आवाज सबै मधेसी दल एक हुनुपर्ने भन्ने छ,’ उनले भने, ‘म पार्टी एकता लागि तयार छु, मधेसी दलहरू एक भएकै दिन मधेसी समुदायको आधा माग पूरा हुनेछन्।’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकताका लागि आफू तयार रहेको भन्दै एकताको विपक्षमा जान नहुने बताए। उनले भने, ‘गजेन्द्रनारायण सिंहले मधेसमा एउटा पार्टी मात्रै बनाउनुभएको थियो, किन अरू पार्टी जन्मिए ?’ उनले भने, ‘जे–जस्तो भए पनि अब पार्टी एकताका लागि म तयार छु।’ 

उनले पार्टी एकताको विपक्षमा हुनेलाई मधेसी जनताले बेवास्ता गर्ने उनको भनाइ थियो। मधेसवादी दलहरूबीच एकताको प्रसंग उठ्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने हिँडिसकेका थिए। मोर्चाको संयोजकसमेत रहेका उनले सुरुमै सभालाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगले मधेसलाई अधिकार नदिइए हतियार उठाउन बाध्य हुने चेतावनी दिएका थिए। 

उनले बल सरकारको कोर्टमा रहेको भन्दै जबर्जस्ती चुनाव गराउन खोजिए राज्यका लागि घातक हुने बताए। यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।