काठमाडौं–सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक गरिन्।

अर्की टीभी स्टार मन्दिरा बेदीले संचालन गरेको कार्यक्रममा एप सार्बजनिक गरेपछि अभिनेतृ श्रद्धाले सगुनको मोवाइल एप आफूले पनि डाउनलोड गरेको बताउँदै आफू यस एपबाट निकै प्रभावित भएको बताइन् ।  

सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साँच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको उनको भनाई थियो । ‘सगुनको एप निकै चाखलाग्दो छ।’ उनले भनिन्–‘तपाईंका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ । मलाई मेरो फिल्मी करिअरमा समेत यसले सघाउने अपेक्षा छ । आफ्नो क्यालेन्डर ब्यवस्थित गर्न, गोप्य सामग्री साथीहरुलाई पठाउन यो निकै उपयोगी छ ।’ 

बलिउड अभिनेतृ श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रश्न गरिन् । ‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ।’ गोविन्दले भने–‘ध्यान गर्दा मलाई सबै आइडिया आएको हो ।’ गोविन्दको जवाफ सुनेर उनी केही बेर चकित भइन् । गोविन्दबाट प्रभावित भएकी श्रद्धाले भनिन्, ‘म पनि अब ध्यान गर्छु।’ 

कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । सगुनको एप लञ्चिङ कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौला तथा बेलायत, अष्ट्रेलिया, कोरिया, अमेरिका, क्यानाडा, नेपाललगायत मुलुकबाट प्रतिनिधि दिल्ली आएका थिए । 

एप सार्बजनिक कार्यक्रम गर्न होटलको हल विशेष रुपले सजाइएको थियो । आयोजक टिमले कार्यक्रमलाई कसरी भव्य बनाउने भनेर स्टेजमै दर्जनौंपटक अभ्यास गरेको थियो । 

कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र आफू बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । ‘तपाईंहरुले सगुनको एप डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अबसर बढ्ने छ, उनले भने, ‘विश्वब्यापी रुपमा यसको प्रयोगकर्ता बढेभने नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ । 

सगुनका सहसंस्थापक कविन सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल लंचिगमा गर्ने जस्तै भब्य समारोह गरेर एप सार्बजनिक गरिएको बताए । उनले भने ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लञ्चिङ गरेका छौं । 

वेब प्लेटफर्ममा रहेको सुगुनले स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरेर एन्ड्रोइड एप सार्बजनिक गरेको हो । सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि यसको प्रतीक्षा गरेका थिए ।  यस एपले प्रयोगकर्ताको गोपनियतालाई सुनिश्चित गरेको छ । सगुन एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।

मोवाइलमा वेब ब्राउजर नखोली एपबाटै वेबमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।  यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ लगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ । 

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ । 

अल इन वन एप जस्तै रहको सगुनमा ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर समाहित छन् । यसलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । सगुनले आइफोन प्रयोगकर्ताहरुका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्बजनिक गरिने जनाएको छ ।