काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले क्यूआर कोडमार्फत भुक्तानीको सुरुवात गरेको छ । 

यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरी उपभोग गर्न सक्नेछन् । क्यूआर कोडमार्फत भुक्तानी गर्न निम्न तरिका प्रयोग गर्नुपर्नेछ:

  • मर्चेन्टले MoBank मर्चेन्ट App बाट Request Payment विकल्प प्रयोग गरी QR Code generate गर्ने र ग्राहकले आफ्नो MoBank प्रयोग गरी सोही क्यूआर कोडमा MOPay विकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ ।
  • मर्चेन्टले भुक्तानी काउण्टरमा क्यूआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन्, जसलाई ग्राहकले MOPay विकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

एनआईसी एशिया यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक हुनुको साथ-साथै यो सेवाबाट व्यवसायी तथा ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो सेवा प्रयोग गर्न ग्राहकसँग स्मार्ट फोन उपलब्ध हुनुपर्ने र सो फोन प्रयोग गरी ग्राहकले सजिलै भुक्तानी गर्नसक्ने बैंकले जनाएको छ । 

बैंकको मोबाइल बैंकिङ्ग सेवा Google Play/App Store अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना रहेको बैंकले जनाएको छ ।

हाल यो बैंकको मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।