काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई रोक्न यथासंभव न्यून कर्मचारीलाई मात्र खटाउन र सकेसम्म डिजिटल कारोबारलाई प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा ह्वात्तै बढाएको छ । 

भुक्तानी सम्बन्धी काम गर्ने सबै संस्थाहरुलाई आइतबार राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले परिपत्र गर्दै मोवाइल बैंकिङ र वालेटबाट हुने कारोबारको सीमा बढाइएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकले मोवाइल बैंकिङ कारोबारको सीमा प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँ पुर्याएको छ । यसअघि प्रतिदिन ५० हजार र प्रति महिना २ लाख रुपैयाँ मात्र कारोबार गर्न पाइन्थ्यो । यसरी हेर्दा दैनिक कारोबारमा साबिकको तुलनामा दुई गुणा र मासिक कारोबारमा साबिकको तुलनामा ५ गुणाले सीमा बढाइएको छ । 

इन्टरनेट बैंकिङमा मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रति महिना ३० लाख रुपैयाँ तोकिएको छ ।

यस्तै,  खाता ट्रान्सफरका लागि दैनिक १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था गरिएको छ । 

यस्तै, वालेटबाट अन्य बैंक खातामा कारोबार बढाएर प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ ।  यसअघि प्रति कारोबार भनेर तोकिएको थिएन भने प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना ५० हजार रुपैयाँमात्रै कारोबार गर्न पाइने व्यवस्था थियो । 

एक वालेटबाट अर्को वालेटमा ट्रान्सफर गर्ने सीमा पनि र प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँ तोकिएको छ ।

दुई दिनअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको संयुक्त बैठक बसेर इन्टरनेट÷मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमबाट गरिने कारोवारमा कुनै शुल्क नलिने निर्णय गरेका थिए ।

राष्ट्रबैंकले बैंकहरुलाई अहिलेको अवस्थामा डिजिटल कारोबारलाई बढावा दिने अवसर समेत रहेको भन्दै यसको भरपूर उपयोग गरी सर्वसाधारणलाई यसमा अभ्यस्त बनाउने काम गर्न समेत भनिरहेको छ ।