काठमाण्डौ । नेपाल टेलिकमले चैत २० गतेदेखि २६ गतेसम्म ७ दिनका लागि लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको निर्णय गरेको छ । 

योसँगै अब जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लाग्नेछ । 

सेवाहरू सुपथ मूल्यमा उपलब्ध गराउने क्रममा घोषित पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । 

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी रू. १ सयमा बोनससहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा चैत्र २० देखि २६ गतेसम्मका लागि मात्र लागू हुने गरी ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुलबापत हुने जरिवाना आगामी बैशाख मसान्तसम्मका लागि मिनाहाको निर्णय समेत भएको छ । 

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकलाई सेवा निरन्तर उपलब्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ ।