काठमाण्डौ । बिमा कम्पनीहरुले राम्रो नाफा कमाउन सक्ने आँकलन, वाणिज्य बैंकहरुको नाफा सुरक्षित गर्ने हतारो र मूल्य घटेको बेला छानी छानी राम्रा कम्पनीको सेयर खरिदारीमा परेको चापका कारण साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको उछाल आएको छ । यसअघि निरन्तर घटिरहेको बजारमा धेरै दिनपछि हरियाली छाएको हो । 

विश्लेषकहरुले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु मूल्य घटेको बेला राम्रा कम्पनी छानी छानी सेयर खरीदमा लागेपछि यसले केही दिनसम्म बजार बढाउनसक्ने आँकलन गर्छन् । ‘तर, परिसूचकसँगै कारोबार रकम बढ्न सकेन भने बजारको वृद्धि दिगो नहुनसक्छ ।’ एक विश्लेषकले भने–‘केही दिनसम्म बजार बढ्नुुपर्ने हो । ती विश्लेषकको भनाईमा पहिलो त्रैमासको प्रगति विवरण बिमा कम्पनीहरुले निकाल्न मात्र सुरु गरेका छन् ।’ बैंकहरुको भन्दा बिमाको प्रगति राम्रो आउने देखिएकोले त्यसको प्रभाव समेत आगामी बजारमा पर्नसक्ने उनको तर्क छ । 

बजार परिसूचक(नेप्से) १६.४१ अंकले बढेर १४७७.१४ अंकको उचाईमा फर्किएको छ । यो दिन ट्रेडिङ बाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ । 

सबैभन्दा बढी जलविद्युत समूहको सूचकमा बढोत्तरी भएको छ भने बैकिङ, विकास बैंक र बिमा समूहको सूचकमा पनि राम्रो बढोत्तरी भएको देखिएको छ । जलविद्युत समूह ३१.६७(१.७८ प्रतिशत)ले बढ्दा बैकिङ समूह १५.६६(१.२६ प्रतिशत), विकास बैंक समूह २३.६१(१.३५ प्रतिशत) र बिमा समूह ११८.७१ अंक(१.४९ प्रतिशत)ले बढे । 

होटल समूहमा ४.५२ अंकको बढोत्तरी भयो भने बित्त समूह २.८२, माइक्रोफाइनान्स समूह १.२८ र अन्य समूह ५.२१ अंकले बढे । ट्रेडिङ समूहमा ३.१३ अंकको गिरावट देखियो ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२६ अंकको बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सूचकमा दोहोरो अंकले बजार कमब्याक भए पनि कारोबार रकम भने घटेको छ । यो दिन बजारमा १ सय ५९ कम्पनीका ११ लाख १४ हजार ८७ कित्ता सेयर ३९ करोड ७१ लाख ६८ हजार ६ सय ११ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी बैंक अफ काठमाण्डूूको २ करोड ८९ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभूू बैंकको समेत २ करोड ८८ लाख बढीको संस्थापक सेयर खरीदबिक्री भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ५० लाख, एनबी बैंकले १ करो८ ४१ लख, शिखर इन्स्योरेन्सले १ करोड २९ लाख, नवील बैंकले १ करोड १३ लाख, चिलिमे हाइड्रोपावरले १ करोड ९ लाख, बैंक अफ काठमाण्डूूले १ करोड ३ लाख र प्राइम कमर्सियल बैंकले ८९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक, एक स्थान बिमा कम्पनी र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सहयोगी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो बैंकको सेयर मूल्यमा ७.२७  प्रतिशतले वृद्धि भयो । बेस्ट फाइनान्स कम्पनीको मूल्यमा समेत ६.२५ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन विजय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घट्न पुुग्यो । मिथिला लघुवित्त विकास बैंकका सेयरधनीले समेत ४.४२ प्रतिशतको दरले सम्पत्ति गुमाए ।