काठमाण्डौ । राष्ट्रबैंकले आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर लगानीकर्ता अत्तालिएका छन् । मौद्रिक नीतिले सेयर धितोकर्जाको सीमालाई बढाउने आशामा बसेका लगानीकर्ताहरुले मौद्रिक नीतिलाई कसरी बुझ्ने होला ? धेरैको मन जिज्ञासू भएको छ । 

आखिर मौद्रिक नीति सेयर बजारका लागि सुखद छ कि छैन त ? 

सतही रुपमा बुझ्दा मौद्रिक नीतिले सेयर बजारलाई निराश तुल्याएजस्तो देखिन्छ । तर, यहाँ भएका केही व्यवस्थालाई गहिरिएर अध्ययन गर्ने हो भने मौद्रिक नीतिले सेयर बजारलाई बुस्ट गर्नसक्ने कार्यक्रम समेटेको देखिन्छ । 

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ । यो भनेको बैंक तथा बित्तीय संस्थाहरुको चुक्तापूँजीको २५ प्रतिशतसम्म सेयर धितो राखेर कर्जा प्रवाह गर्न सकिन्छ भन्ने हो । वाणिज्य बैंकको मात्रै कुरा गर्ने हो भने ३ वटा बाहेक सबैले चुक्तापूँजी ८ अर्ब पुर्याइसकेका छन् । यसको अर्थ एउटा बैंकको ८ अर्ब पूँजीको मात्र हिसाब हेर्ने हो भने उसले सेयर धितो राखेर २ अर्बसम्म कर्जा दिन पाउँछ । यो भनेको निकै धेरै हो । सबै वर्गका बित्तीय संस्थाको चुक्तापूँजी बढेको अवस्थामा २५ प्रतिशतसम्म मात्र सेयर धितो राखेर कर्जा दिन पाइने व्यवस्थाले यस्तो कर्जा फालाफाल हुनेछ, जसले बजारलाई बुम गर्न सहयोग गर्नेछ । 

मौद्रिक नीतिले सेयर लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी गरेको अर्को व्यवस्था भनेको शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने भन्ने हो । यसअनुसार सेयर धितो कर्जा लिएका लगानीकर्ताहरुलाई बैंकहरुले १८० दिनको औषत मूल्य भन्दा २० प्रतिशत घटेपछि मात्रै मार्जिन कल गर्न पाउनेछन् । यसअघि बैंकहरुले १० प्रतिशत मूल्य घटेपछि नै मार्जिन कल गर्ने गरेका थिए । 

कतिपय विज्ञ लगानीकर्ताले यसलाई सेयर धितो कर्जाको यसअघिको सीमा ५० प्रतिशतलाई घुमाउरो ढंगले बढाएर ६० प्रतिशत पुर्याइए सोसरहकै व्यवस्थाको रुपमा समेत बुझेका छन् । यसकारण समेत लगानीकर्ता धेरै अत्तालिनुपर्ने अवस्था छैन । 

मौद्रिक नीतिले लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्ने गरी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा पनि समेटेको छ । वाणिज्य बैंकहरुले प्रक्रिया पुर्याएर सहायक कम्पनी स्थापना गरी सेयर कारोबारका लागि अनुमति मागे दिनसकिने व्यवस्था गरिएको छ । यो व्यवस्थामा वाणिज्य बैंकहरु आक्रामक बन्न सके भने हालसम्म जिल्ला र गाउँसम्म पुग्न नसकेको सेयर कारोबारको सहज व्यवस्था त्यहाँ पुग्नेछ । अहिले ५० वटा ब्रोकर र तिनका शाखा काठमाण्डौ र केही शहरमा मात्र केन्द्रीत छन्, जसका कारण सेयर बजारमा लगानी गर्न चाहेर समेत कतिपयले भौगोलिक विकटताका कारण पाइरहेका छैनन् । 

हुन त पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली समेत निकट भविष्यमै आउँदैछ । यसले प्रविधिमा पहुँच भएका गाउँ गाउँका लगानीकर्ताहरुले समेत बजारमा लगानीको अवसर पाउनेछन् । तर, त्यसका लागि समेत गाउँ गाउँमा सेयर कारोबारको ज्ञान भएका कर्मचारीसहित ब्रोकरको काम गर्ने गरी वाणिज्य बैंकहरु जान सकेको खण्डमा त्यसले बजारमा आमूल परिवर्तन गर्न सक्नेछ । 

विगतमा लगानीकर्ताहरुले बैंकहरुमा तरलता अभावको समस्याबाट प्रताडित भएर सहज दरमा मार्जिन लोन लिन पाइरहेका थिएनन् । मौद्रिक नीतिमार्फत बैंक तथा बित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातमा कटौति गरिएको छ । जसबाट करिब ४८ अर्ब तरलता प्रणालीमा थपिने विश्वास गरिएको छ । यसो भयो भने प्रणालीमा प्रशस्त तरलता हुनेछ र यसले सेयरमा लगानी गर्न चाहनेहरुले सहजै लोन पाउनेछन् । यसले समेत आगामी दिनमा बजार बुम गर्न सहयोग पुर्याउनेछ । 

योसँगै मौद्रिक नीतिले ब्याजदरको उतारचढावलाई समेत नियन्त्रणका लागि विविध व्यवस्था गरेको छ । ब्याजदर थाम्नै नसक्ने नहुँदाको फाइदा सेयर लगानीकर्ताहरुले समेत लिन सक्नेछन् । 

यसरी समग्रमा मौद्रिक नीति सेयर बजार तथा लगानीकर्ताका लागि सुखद छ ।