काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीबाट प्रस्तुत मौद्रिक नीतिका कारण अटो व्यवसायीहरु खिन्न भएका छन् । 

मौद्रिक नीतिमा अटोमोवाइल क्षेत्रबाट दिइएका कुनै पनि सुझाव सम्बोधन नभएको भन्दै आडा अटोमोवाइल अशोसिएसन अफ नेपालले खिन्नता प्रकट गरेको हो । 

नाडाले झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको  अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पुनरर्विचार गरिदिन समेत आग्रह गरेको छ ।

'नेपाल राष्ट्रबैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मौद्रिक नीतिमार्फत पनि निरन्तरता दिएको छ । त्यसैगरी हालसम्म पनि कायम रहेको र हायर पर्चेज लोनको सम्बन्धमा करयोग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मौद्रिक नीतिले निरन्तरता नै दिएको देखिन्छ।’-नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेपाल राष्ट्र बैंकको पूर्व  निर्णयहरुका कारण सवारीसाधन व्यवसायमा गम्भीर असर परेको र यसबाट राष्ट्रको सर्वाङ्गिण विकासमा नै नकारात्मक असर परिरहेको उल्लेख गर्दै नाडाले यस नीतिको नकारात्मक प्रभाव यसको आयातमा परेको छ भन्ने कुरा सरकारी तथ्याङ्कहरुबाटै स्पष्ट हुने बताएको छ । 

‘आर्थिक बर्ष २०७४/७५ मा कुल सवारी साधनको आयात ४३७६१४ वटा रहेकोमा आर्थिक बर्ष २०७५/७६ मा यो घटेर ३७०२३८ वटा पुगेको छ । अर्थात १५.३९ प्रतिशतले आयात घटेको देखिन्छ । त्यसैगरी आर्थिक बर्ष २०७५/०७६ को माघ महिनासम्मको आयात र चालु आर्थिक बर्ष अर्थात २०७६/०७७ को माघ महिनासम्मको आयात तथ्याङ्कलाई तुलना गर्दा पनि कूल आयातमा १६.८० प्रतिशतले आयात घटेको देखिन्छ र यो अझ घटदो क्रममा रहेको देखिन्छ ।’ विज्ञप्तिमा थपिएको छ–‘प्रत्येक बर्ष सवारी तथा ढुवानीका साधनहरुको आयात सरदर २० प्रतिशतले बढदै जाने क्रम रहेकोमा अहिले झण्डै त्यही अनुपातमा कूल आयात ओरालो लाग्दै गएको अवस्था छ ।’ 

राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरीत कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याइएको सोही नीतिलाई नै निरन्तरता दिनु विरोधाभाषपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । 

‘उल्लेखित निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धि गरी ९० प्रतिशत पुर्याउनु पर्ने सुझाव पेश गर्दछौ । यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने,  सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ नाडाले भनेको छ ।