काठमाण्डौ । नेपाल राष्ट्रबैंकले असार पहिलो सातामै ल्याउने भनेको मौद्रिक नीति तेश्रो साताभन्दा अगाडि नआउने देखिएको छ । 

असार पहिलो साताभित्र नआएको मौद्रिक नीति यो साता आउने भनिएको थियो । तर, यो साता पनि नआउने भएको हो । 

नेपाल राष्ट्रबैंकका सहप्रवक्ता गोविन्दप्रसाद नगिलाका अनुसार यो साता मौद्रिक नीति ल्याउने भनिए पनि तयारी पूरा नभएकोले मिति अझै नतोकिएको हो । ‘मौद्रिक नीति तयारीको क्रममा अनुसन्धान विभागमै छ ।’ उनले बिजशालासँग भने–‘कहिले आउने भन्ने मिति अझै तय भएको छैन । हामी एउटा कार्यक्रमको तयारीमा जुटेकोले यो साता नआउने चाहि पक्का छ ।’

केन्द्रीय बैंकका अर्का एक अधिकारीका अनुसार नेपाल राष्ट्रबैंकले बुधबारदेखि सुरु हुने सार्कस्तरीय गभर्नरहरुको सम्मेलनको आयोजना गर्दैछ । अधिकांश अधिकारी सो सम्मेलनको पूर्वतयारीमा केन्द्रीत हुनुपर्ने भएकोले यो साता मौद्रिक नीति आउदैन ।  

केन्द्रीय बैंकले निर्माणको अन्तिम चरणमा पुर्याएको मौद्रिक नीतिका बारेमा सल्लाह लिनुपर्ने वा छलफल गर्नुपर्ने कतिपय सरकारी निकाय तथा उच्चपदस्थ अधिकारीहरुसँग अझै छलफल हुन सकेको छैन । यो कार्यका लागि समेत केही दिन समय चाहिने हुनाले अर्को साताको अन्तसम्म वा त्यो संभव नभए असार मसान्तभित्र चाहि जसरी पनि मौद्रिक नीति ल्याइने केन्द्रीय बैंकको ती अधिकारीको प्रष्टोक्ति छ ।