काठमाण्डौ । असार पहिलो सातासम्म आउने भनिएको मौद्रिक नीति अन्ततः अन्तिम सातामा मात्र आउने भएको छ । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मौद्रिक नीति निर्माणको अन्तिम काम भइरहेको उल्लेख गर्दै आगामी साताभित्र सार्वजनिक गरिने प्रष्ट पारे । 

‘विविध कारणले मौद्रिक नीति असार पहिलो साता ल्याउन सकिएन ।’ उनले भने–‘यो साता पनि काम धमाधम भइरहेको छ, अब अर्को साताभित्र आउनेछ ।’ 

असार पहिलो साताभित्र नआएपछि राष्ट्रबैंकका अधिकारीहरुले ढिलोमा पनि असार तेश्रो साताभित्र आउने बताएका थिए । तर, तयारी नपुगेको भन्दै यो समयभित्र पनि नआउने देखिएको हो । 

राष्ट्रबैंकले बजेटको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने मौद्रिक नीतिको तयारी गरिरहेको छ । बजारमा अपेक्षा गरिएजस्तो सेयर बजारलाई सपोर्ट हुने खालको कार्यक्रम योपटकको मौद्रिक नीतिमा राख्ने संभावना कम रहेको अधिकारीहरुले दाबी गरेका छन् । घरजग्गा व्यवसायलाई थप कस्ने गरी बैंकहरुलाई कडाई गर्ने कार्यक्रम आउनेछ भने बैंकहरुबीचको बिग मर्जरको नीतिलाई समेत कुनै न कुनै रुपमा समेट्ने कोशिश भइरहेको छ । पूँजीवृद्धिको पुरानो नीति बल्लतल्ल सफल भएपछि रिल्याक्सेसनको अवधि नदिई फेरि बिग मर्जरको कुरा गर्न नहुने र गर्दा हुने भन्ने २ खालको तर्क नीति निर्माणमा संलग्न अधिकारीहरुले व्यक्त गरेपछि यो बिषयमा यसै भन्न सकिने अवस्था नरहेको स्रोत दाबी गर्छ । तर, गभर्नर डा. चिरञ्जिवी नेपाल अर्थमन्त्री डा. युवराज खतिवडाबाट कन्फिडेन्ट लिएर अगाडि बढ्ने योजनामा छन् ।  

मौद्रिक नीतिले अटोलोनमा केही कडाई गर्ने नीति समेत लिने स्रोतहरु बताउँछन् । लगानीकर्ताको माग अनुसार मार्जिन लोन(सेयर धितोकर्जा)को सीमामा परिवर्तन हुने संभावना पनि निकै कम रहेको छ । बरु, सेयर बजारको बिस्तारका लागि एनआरएनहरुको लगानी भित्र्याउने, रियल सेक्टरलाई बजारमा ल्याउने लगायतका प्रयासका लागि केही व्यवस्था हुनेछ । बैंक तथा बित्तीय संस्थाहरुले भारुमा वैदेशिक ऋण भित्र्याउनसक्ने व्यवस्था समेत यो पटकको मौद्रिक नीतिले गर्नसक्ने बताइएको छ ।