बाबियाचौर (म्याग्दी)। म्याग्दी जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।

विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चारवटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवर्द्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए।

दुई सय ४२ मेगावाट क्षमताको आठवटा आयोजनाको सर्वेक्षणकालागि विभागमा निवेदन परेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणकालागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ ।

स्थानीय व्यापारी र सर्वसाधारणको लगानीमा घलेम्दी हाइड्रो लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चार वर्षअघि निर्माण सुरु गरेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

रोवस्ट इनर्जी प्रालिले नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र पारेको छ । अन्नपूर्ण गाउँपालिकाकै शिख घारमा म्याग्दी हाइड्रोपावरले ८.३ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।

वित्तीय स्रोत जुटाउन विभिन्न बैंकसँग सम्झौता भएको आयोजनाको पहुँचमार्ग, सुरुङ, बाँध र विद्युत्गृह निर्माणको काम सुरु गर्ने तयारी भएको कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए। धौलागिरि गाउँपालिकाको मुदीमा हाइड्रो इम्पाएर प्रालिले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

यस्तै धौलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला आयोजना स्थानीय र प्रवर्द्धकबीचको लगानी विवादले अघि बढ्न सकेको छैन । विद्युत् विकास विभागले रिसर्च एन्ड डेभलपमेन्ट ग्रुपलाई चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको अनुमति दिए पनि पर्यटकीयस्थल रुप्से झरना सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

टुडी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट, निलगिरि खोला हाइड्रोपावरले ३८ मेगावाटको निलगिरि खोला, ट्रेडलिङ्क ग्लोवलले ७२ मेगावाटको अपर कालीगण्डकी र ह्युम कन्सल्टेन्टले छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।