यांगुन(रासस/एएफपी) । म्यानमारको सेनाले गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको समाचार छ । 

यसलाई म्यानमारमा रोहिङ्ग्या विरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिका सहितका नागरिकको मृत्यु भएको आशङ्का यसअघि नै गरिएको थियो । 

संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा रोहिङ्ग्याका विरुद्धमा गरिएको एउटा ठूलो जातीय सफाया भन्दै आएको थियो । तर म्यानमारले भने स्वीकार गरेको थिएन । 

बिहीबार डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा सार्वजनिक भएको हो । नागरिकमाथि सैनिकले ज्यादति गरेको कुरा पनि सो प्रतिवेदनमा लेखिएको छ । 

त्यस कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको पनि संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा दुई महिना मात्र अघि जनाइएको छ । 

रोहिङ्ग्या समुदायकै नागरिकलाई लक्ष्य गरेर सो हिंसा भएको उक्त प्रतिवेदनमा जनाइएको छ । गएको अगष्ट २५ बाट उनीहरु विरुद्धको कारबाही थप आक्रामक बन्दा उनीहरु भागेर म्यानमार प्रवेश गरेका थिए । 

राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि मारिएका हुन् । त्यस्तै महिलामाथि पनि ज्यादति भएको थियो । 

म्यानमारमा राखिन राज्यमा सेनाले गरेको ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा ती मानिसको हत्या भएको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको थियो । 

अल्पसङ्ख्यक मुसलमान माथि म्यानमारका सुरक्षाकर्मी वा गैरसैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतकङ्क सिर्जना गर्ने र प्रतिकार गर्ने नागरिकका परिवारजनमाथि हिंसात्मक कारवाही गरिएको सो संस्थाले जनाएको छ । 

बङ्गलादेशको शरणार्थी शिविरमा रहेका ११ हजारभन्दा बढी शरणार्थीमा यस विषयमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानका आधारमा यो प्रतिवेदन सार्वजनिक गरिएको समाचारमा जनाइएको छ । 

अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आफुहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ । 

जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार कार्यालयका एक अधिकारीले म्यानमारमा अल्पसङ्ख्यक आदिवासी मुशलमान समुदायलाई राखिन राज्यबाट हटाउने अभिप्रायले सो कारवाही चलाएको जनाएका छन् । 

यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन् । उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन् ।