काठमाण्डौ । सेयरको तुलनामा कम जोखिमको क्षेत्र मानिएको सामूहिक लगानी कोष(म्युचुअल फण्ड)मा समेत सर्वसाधारणको आकर्षण ह्वात्तै देखिएको छ । सर्वसाधारणलाई विभिन्न संचारमाध्यमले म्युचुअल फण्डको बिषयमा बुझाउन थालेपछि यसतर्फ लगानी गर्नेको संख्या बढेको देखिएको हो । 

सेयरको बिषयमा आधारभूत ज्ञान समेत नभएका सर्वसाधारण लगानीकर्ताहरुले लगानीको राम्रो विकल्पको रुपमा सामूहिक लगानी कोषलाई रोज्न थालेका पछिल्लो समयमा खुलाइएको म्युचुअल फण्डको सार्वजनिक निश्कासनमा परेका अचाक्ली आवेदनले पुष्टि गर्छ । 

एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलद्वारा प्रवद्र्धित सात वर्षे बन्दमुखी सामूहिक लगानी कोष(म्युचुअल फण्ड) ‘एनएमबी हाइब्रीड फण्ड एल–१’ ले भदौ २६ गतेदेखि निश्कासन गरेको ८० करोड मूल्यको ८ करोड इकाईमा बिहीबारसम्म १.६२ गुणा बढी आवेदन परिसकेको छ । 

पहिलो दिन २० करोडको मात्र आवेदन परेकोमा बिहीबारसम्ममा कुल १ अर्ब २९ करोड ६८ लाख रुपैयाँको आवेदन परेको एनएमबी क्यापिटल लिमीटेडले जनाएको छ । 

सेयरमा अचाक्ली लगानीको चाप देखिएजस्तै म्युचुअल फण्डमा समेत सर्वसाधारणको चासो बढ्दै गएको एनएमबी क्यापिटलले सार्वजनिक निश्कासन गरेको दोश्रो म्युचुअल फण्डमा परेको आवेदनले देखाउँछ । 

१० रुपैयाँ प्रति इकाई मूल्यको कुल ८० करोड रुपैयाँको ८ करोड इकाईसम्म सर्वसाधारणलाई लगानीका लागि खुल्ला गरिएकोमा बिहीबारसम्ममा ९ हजार १ सय ५७ वटा आवेदनहरु परेका बताइएको छ ।  पहिलो दिन १ हजार ३ सय ९४ जनाको मात्र आवेदन परेकोमा पछिल्लो समय आवेदन दिनेको संख्या बढेको हो । आवेदन दिने अन्तिम मिति शुक्रबार(आज) भएकोले आवेदन अझ बढ्नसक्ने बताइएको छ । 

इच्छुकले न्यूनतम १ सय इकाईदेखि अधिकतम ८ लाख इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

कुल ८० करोडको सार्वजनिक निश्कासनमध्ये १२ करोड रुपैयाँको इकाई एनएमबी बैंकले खरीद गर्नेछ भने ८ लाख इकाईमा एनएमबी क्यापिटलको लगानी रहनेछ । बाँकी ६ करोड ८० लाख रुपैयाँको इकाईमा सर्वसाधारणले लगानीको अवसर पाएका छन् । 

यो म्युचुअल फण्डको सार्वजनिक निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटलले नै बिक्री प्रबन्धकको काम गरिरहेको छ । 

एनएमबी बैंकले यसअघि नै ‘एनएमबी सुलभ फण्ड १’ नामको पहिलो सामूहिक लगानी कोषलाई संचालन गरेको छ र यो कम्पनी नेप्सेमा सूचिकृत छ । यो फण्डको प्रति इकाई अन्तिम कारोबार मूल्य १६ रुपैयाँ २० पैसा रहेको छ ।