काठमाण्डौ । घट्दो बजारका कारण चारवटा म्युुचुुअल फण्डहरुको प्रति इकाई खूद सम्पत्ति मूल्यमा पहिरो गएको छ । साउनको तुलनामा भदौको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा पहिरो गएको हो । 

यसरी न्याभ धेरै घट्ने स्किमहरुमा सिद्धार्थ क्यापिटलबाट प्रवद्र्धित २, नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडबाट प्रवद्र्धित एक र एनएमबी क्यापिटलबाट प्रवद्र्धित अर्को एक कम्पनी रहेका छन् । 

साउन मसान्तसम्म २४.४४ रुपैयाँ रहेको ''नवील ब्यालेन्स फण्ड''को न्याभ भदौ मसान्तसम्म घटेर १९.२६ मा झरेको हो । यो स्किमले न्याभमा पहिरो गएकै कारण भदौसम्म ३ करोड ६६ लाख बढी घाटामा छ । यो अवधिसम्म यो स्किमले ९ लाख ६९ हजार ४ सय २ कित्ता सूचिकृत सेयरमा लगानी गरेको छ भने ४९ हजार ६९ सूचिकृत नभएको सेयरमा समेत लगानी गरेको छ । ७ करोड ५० लाख फिक्स डिपोजिटमा राखेको यो फण्डले भदौ मसान्तसम्म ७४ कम्पनीको १२ लाख ४० हजार ४ सय ९४ कित्ता खरीद गरेको छ । 

यस्तै, ''एनएमबी सुुलभ इन्भेष्टमेन्ट फण्ड-१'' को न्याभमा पनि पहिरो गएको छ । नबील ब्यालेन्स फण्डले ४२ प्रतिशत नगद लाभांश वितरण गरेका कारण यसको मूल्य समायोजन हुँदा धेरै घटेको देखिए पनि ''एनएमबी सुुलभ इन्भेष्टमेन्ट फण्ड-१'' मा भने ठूलै पहिरो गएको देखिन्छ । यो स्किमको साउन मसान्तसम्मको न्याभ १७ रुपैयाँ ६ पैसा रहेकोमा घटेर भदौ मसान्तसम्म १४ रुपैयाँ ३१ पैसा कायम भएको छ । यो स्किम पनि १ करोड ७१ लाख बढी घाटामा छ । यो स्किमले सूचिकृत कम्पनीको ६ लाख ७५ हजार ९ सय १३ कित्ता तथा सूचिकृत नभएका कम्पनीको ३१ ह्जार ७ सय ८४ कित्तामा लगानी गरेको छ । १२ करोड ५० लाख रुपैयाँ मुद्धती खातामा राखेको यो फण्डले कुल ७२ कम्पनीको ९ लाख ३५ हजार ६ सय ६२ कित्तामा लगानी गरेको छ । 

सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धित ''सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम'' र ''सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम''को प्रति इकाई खूद सम्पत्ति मूल्यमा समेत उस्तै गिरावट आएको छ । यीमध्ये सिद्धार्थ इक्वीटीले २५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले ६० प्रतिशत नगद लाभांश वितरण गरेका थिए । नगद लाभांश वितरणपछि मूल्यमा समायोजन हुँदा यी दुवै स्किमको न्याभतर्फ निकै ठूलो गिरावट देखिएको हो । 

सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको साउन मसान्तसम्मको न्याभ १६.०५ रुपैयाँ रहेकोमा घटेर भदौ मसान्तसम्म १२.८ रुपैयाँ कायम भएको हो । यो स्किमले सूचिकृत धितोपत्र कुल ९ लाख ५८ हजार ७ सय ७५ कित्ता, सूचिकृत नभएका धितोपत्र कुल २१ हजार ५ सय २५ कित्ता खरीद गरेको छ । मुद्धती खातामा २३ करोड ५० लाख राखेको यो फण्डले भदौ मसान्तसम्म ८४ कम्पनीको ४२ लाख बढी कित्तामा लगानी गरेको छ । यो स्किम भदौ मसान्तसम्म ९४ लाख बढी घाटामा छ । 

यसैगरी, ''सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१'' को साउन मसान्तसम्म २७.९ रुपैयाँ रहेको न्याभ घटेर २१ रुपैयाँमा सीमित बन्न पुुगेको छ । यो स्किम भने २४ लाख बढी नाफामा छ । सूचिकृत सेयरतर्फ कुल ६ लाख ६० हजार ४ सय ५१ कित्ता र सूचिकृत नभएका सेयरतर्फ १७ हजार ७ सय ३४ कित्ता खरीद गरेको छ । २७ करोड ५० लाख मुद्धती खातामा राखेको यो स्किमले ५९ कम्पनीका कुल ७ लाख ६५ हजार ६ सय १५ कित्तामा लगानी गरेको छ । 

अन्यको अवस्था कस्तो छ ?

यसैगरी, नवील इक्वीटी फण्ड र एनएमबी हाइब्रिड फण्ड १ को प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) समेत घटेको छ । नवील इक्वीटी फण्डको साउन मसान्तसम्म ९.९९ रुपैयाँ रहेको न्याभ घटेर भदौ मसान्तसम्म ९.७६ रुपैयाँमा सीमित बन्न पुुगेको छ । यो स्किमले सूचिकृत ६ लाख ४२ हजार २ सय ४९ कित्ता, सूचिकृत नभएका ३१ हजार ४ सय ५६ कित्तामा लगानी गरेको छ । १२ करोड ५० लाख मुद्धती खातामा राखेको यो स्किमले भदौ मसान्तसम्म ४७ कम्पनीको कुल ६ लाख ८७ हजार ७८ कित्तामा लगानी गरेको छ । भदौ मसान्तसम्म यो स्किम २ करोड ६१ लाख बढी घाटामा छ । 

यसैगरी, एनएमबी हाइब्रिड फण्ड-१ को न्याभ साउन मसान्तसमम १०.६२ रुपैयाँ रहेकोमा घटेर भदौ मसान्तसम्म १०.४६ रुपैयाँ कायम भएको छ । यो अवधिसम्म यो स्किमले ३ लाख २४ हजार ७ सय ३१ सूचिकृत कम्पनीको सेयर तथा ६ हजार १ सय १८ कित्ता सूचिकृत नभएका कम्पनीको सेयरमा लगानी गरेको छ । ५४ करोड फिक्स्ड डिपोजिटमा राखेको यो स्किमले ४३ कम्पनीको कुल ४ लाख १ हजार ८५ कित्तामा लगानी गरेको छ । भदौ मसान्तसम्म यो स्किम ३८ लाख घाटामा छ ।