काठमाण्डौ । म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ । नेपालमा पनि ७ वटा म्युचुअल फण्ड(सामूहिक लगानी कोष) छन् । पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ । आफूले लगानी गर्ने यस्तो फण्डको बिषयमा सही जानकारी सही समयमा नलिंदा घाटा खानुपर्ने अवस्था समेत आउनसक्छ । हामी आज तपार्इंलाई म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडि कुन–कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा केही टिप्स दिन गइरहेका छौं । 

1.फण्डको पछिल्लो प्रस्तुती
कुनै पनि म्युचुअल फण्ड छनौट गर्नुअघि त्यसले विगत २ देखि ३ वर्षको बीचमा गरेको प्रगति वा प्रस्तुती हेर्नुपर्छ । तर, पछिल्लो प्रदर्शन भविष्यको प्रदर्शनको आधार चाहि बन्नसक्दैन । यसबाट तपाईंलाई यो कुराको जानकारी प्राप्त हुन्छ कि यो म्यूचुल फण्डले कस्तो प्रदर्शन गरिरहेको छ । उदाहरणका लागि यदि कुनै म्युचुअल फण्ड विगत ३ वर्षदेखि बजारमा छ र त्यसमा १० हजार बराबरको लगानी गरिएको छ भने आजको मितिमा त्यो १० हजार रुपैयाँको भ्यालु कति पुग्यो भन्ने कुरा हेर्न अनिवार्य हुन्छ । त्यो लगानीमा हरेक साल कति प्रतिशतको रिटर्न प्राप्त भइरहेको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । नयाँ फण्ड छ भने त्यसका प्रबन्धकको पोर्टफोलियो, प्रतिष्ठा, उसले पहिला संचालन गरेको म्युचुुअल फण्डको अवस्था लगायतको बिषयमा समेत ध्यान दिनुपर्ने हुन्छ।

2. पोर्टफोलियो
लगानीकर्ता म्युचुअल फण्डमा यसकारण लगानी गर्छ कि यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ । त्यसकारण म्युचुअल फण्डको छनौटअघि सो संस्थाको पोर्टफोलियो हेर्न अनिवार्य हुन्छ । यस्ता म्यूचुअल फण्डको क्रेडिट प्रोफाइल पनि चेक गर्नुहोस् । 

3. खर्चहरु
म्युचुअल फण्डमा लगानी गर्नुपूर्व खर्च अनुपात अनिवार्य रुपमा चेक गर्नुपर्छ । यदि यस्तो फण्डमा खर्च अनुपात कम हुन्छ भने त्यस्तो कम्पनीमा लगानी गर्नु हितकर हुनेछ । 

4. ब्राण्ड मात्र नहेर्नुस्
कुनै पनि ठूलो ब्राण्ड म्युचुअल फण्डमा लगानीको मापदण्ड होइन । कुनै पनि म्युचुअल फण्डमा लगानी गर्नुपूर्व त्यसको बिषयमा सकेसम्म रिसर्च र तथ्यहरुको विश्लेषण गर्नुपर्ने हुन्छ । व्यक्तिगत सुझाव, विज्ञापन अथवा ब्राण्ड नामलाई बढी महत्व नदिनुहोस् । लगानीपूर्व फण्डको ट्रयाक रेकर्ड हेर्नुहोस, अनि मात्र लगानीको निर्णय लिनुहोस् ।

5. रिटर्नको आशा
आम रुपमा म्युचुअल फण्डमा लगानी गरेपछि लगानीकर्ताले २० देखि ३० प्रतिशतसम्मको रिटर्नको आशा गरेको हुन्छ, तर यो आशा अवास्तविक हो । म्युचुअल फण्ड बजारको प्रदर्शनमा निर्भर हुन्छ । त्यसकारण लगानीपूर्व नै धेरै रिटर्नको आशा गर्नु सही हुन्न । यदि लामो समयका लागि डेट फण्डमा लगानी गर्नुहुन्छ भने यसमा ९ प्रतिशत र इक्वीटीमा १६ प्रतिशतसम्मको रिटर्न प्राप्त हुनसक्छ । लगानीपूर्व तपाईं निश्चय गर्नुहोस् कि तपाईं कति प्रतिशतसम्म रिटर्न चाहनुहुन्छ । यदि तपाईं निश्चित रिटर्न चाहनुहुन्छ भने तपाईंका लागि म्युचुअल फण्ड लगानीको उपयुक्त ठाउँ होइन । यहाँ त लगानीपछिको रिटर्न अलग–अलग हुनसक्छ । यसको प्रत्येक लगानीमा अनिश्चितता र जोखिम पनि हुनसक्छ । 

6. अन्य जानकारी
म्यूचुअल फण्डको पोर्टफोलियो, खर्चको साथमा त्यसको लाभांशको ट्रयाक रेकर्ड समेत हेर्न आवश्यक हुन्छ । फण्डबाट हुने रेगुलर लाभांश जेष्ठ नागरिकहरुका लागि बढी हि तकर हुनसक्छ । विज्ञको सुझाव अनुसार लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गरेपछि प्रत्येक त्रैमासमा चेक गरी फण्डलाई ट्रयाक गर्न आवश्यक हुन्छ । यो कामले आफूले लगानी गरेको कोषले कस्तो काम गरिरहेको छ भन्ने बिषय थाहा पाउन सकिन्छ । 

7.बढी भन्दा बढी जानकारी जुटाउने
कुनै पनि म्युचुअल फण्डमा लगानीपूर्व त्यो फण्डको बिषयमा धेरै भन्दा धेरै जानकारी जुटाउनुहोस् । यो पनि पत्ता लगाउनुहोस् कि यो फण्डमा जम्मा भएको पैसा कहाँ लगानी हुने गरेको छ । यसका लागि तपाईले स्कीम इन्फरमेसन डकुमेन्ट्स(एसआइडी)बाट सुरु गर्न सक्नुहुन्छ । तर एसआइडीले तपाईलाई मात्र स्कीमको बिषयमा जानकारी दिन्छ । कुनै पनि स्कीममा लगानीका लागि यति मात्र सूचना काफी हुन्न । त्यसकारण फण्डसँग जोडिएका अन्य कयौं तथ्यहरुको बिषयमा समेत जानकार हुन अपरिहार्य हुन्छ ।