काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले कांग्रेस प्रवेशको बिषयमा प्रष्टीकरण दिएका छन् । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो कांग्रेस प्रवेशको सान्दर्भिकताको बिषयमा प्रष्टीकरण दिएका हुन् । 

उनले आफूले विगतमा समेत कांग्रेसबाट प्रधानमन्त्री भएकाहरुसँग सहकार्य गरी काम गरेको र ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै आफ्नो वर्षौदेखिको कांग्रेससँग निकटताको बिषयलाई उठाएका छन् । ‘२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालीन आर्थिक रुपान्तरणको प्रारम्भिक चरणमा मैले नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् अध्यक्षको हैसियतले तत्कालीन प्रधानमन्त्रीदय स्व. कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसाद कोइरालासँग काम गर्ने शौभाग्य प्राप्त गरेको स्मरण गराउन चाहन्छुु ।’ चौधरीले विज्ञप्तिमा भनेका छन्–‘त्यतिबेला चालिएको आर्थिक सुधारको परिणाम स्वरुप उच्च आर्थिक वृद्धिदर, निर्यात व्यापार, राजश्व संकलन, विदेशी लगानी लगायतमा ऐतिहासिक उपलब्धि हासिल भएको थियो ।’ 

उनले आफूले लामो समयदेखि अर्थतन्त्रको फराकिलो र उच्च वृद्धिका लागि निजी क्षेत्रलाई निर्णायक भूमिका दिइनुपर्छ भन्ने मान्यता स्थापित गर्न संघर्षरत रहँदै आएको दाबी समेत गरेका छन् । आर्थिक विकासको इञ्जिन निजी क्षेत्र नै हो भन्ने सोंचलाई व्यवहारमा कार्यान्वयन गर्न आफूले भविष्यमा समेत सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 

पहिलो संविधानसभामा एमालेबाट समानुुपातिक सभासद भएका चौधरीले सो बेला आफूले समृद्ध नेपाल निर्माणका लागि उदार अर्थव्यवस्था एवम् गतिशील निजी क्षेत्रको पक्षमा सदनभित्र र सार्वजनिक रुपमा पनि संघर्षरत रहेको दाबी गरेका छन् । उनले राष्टिय तथा अन्तराष्टिय मञ्चहरुमा आफूले  नेपाल र नेपालीको स्वाभिमान एवम् समुन्नत नेपाली अर्थतन्त्रको विकासमा जोड दिने गरेको बताएका छन् । 

उनले घुमाउरो रुपमा समृद्ध नेपाल निर्माणको कांग्रेस एजेण्डाबाट आफूू प्रभावित भएको समेत भन्न भ्याएका छन् । लोकतान्त्रिक शासन पद्धति र खुल्ला बजार अर्थतन्त्रको बिषयमा कांग्रेस पार्टीबाट सार्वजनिक गरिएको आह्वान तथा पहलबाट आफू उत्साहित भएको समेत बताएका छन्।

विनोद चौधरीले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ: