काठमाण्डौ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ ।
 
कम्पनीले स्थापनाको २२ औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाईसमेत मध्यनजर गर्दै आन्तरिक पर्यटनका प्याकेज बनाएको हो । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको छ । कोभिडले छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाई आर्थिक गतिविधि बढाउन प्याकेज ल्याइएको कम्पनीले उल्लेख गरेको छ ।
 
यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताउनुभयो । उहाँले लामो प्रतिवन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
 
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई पुनस्थापित गर्न ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ्गलगायत कम्पनीसँगको सहकार्यमा प्याकेज बनाइएको जनाएको छ ।  एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘अब एयरलाइन्सले यात्रुलाई गन्तव्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिन भ्रमण प्याकेज बनाइएको हो । 
 
आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधि सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ । 
 
यती एयरलाइन्सको आन्तरिक पर्यटन प्याकेज अभियान घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यतीको पर्यटकीय प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई  समेत जोड्न कम्पनीलाई आग्रह गर्नुभयो । 
 
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटकीय प्याकेजले छ महिनादेखि ठप्प रहेको पर्यटन व्यवसायलाई केही हदसम्म राहत मिल्नुका साथै पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
 
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले प्याकेजले मुलुकभित्र घुमफिरको वातावरण बनाउन सहयोग पुग्नुका साथै पर्यटन क्षेत्रका संस्थाको साझेदारितामा अन्य कार्यक्रम अघि बढाइने बताउनुभयो । 
 
यस्ता छन् यतीका पर्यटकीय प्याकेज 
एभरेष्ट ट्रेल: रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक), रारा: रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखरा: रु पाँच हजार ९९९  सात ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवन: रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शन: रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक), मुक्तिनाथ दर्शन: रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक: रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल: रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ ।
 
टिकट  एप्सबाट 
यती एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोबाइल फोनबाट काट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सोही प्रयोजनका लागि कम्पनीले मोबाइल एप सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।
 
उडान शुरु 
बन्दाबन्दीको छ महिनापछि यतीले आजदेखि आन्तरिक उडान शुरु गरिएको जनाएको छ । एअरलाइन्सका सिइओ रिमालले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्यको मापदण्ड तथा कम्पनीले बनाएको स्वास्थ्य प्रोटोकलको पालना गरी उडान शुरु गरिएको जानकारी दिनुभयो ।
 
उहाँका अनुसार कम्पनीले चालक दल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर डब्लुएचओ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एअरलाइन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित तवरले जहाज सञ्चालन गरेको छ ।
 
“यात्राका दौरान यात्रुलाई सुरक्षित राख्न गर्नुपर्ने अतिरिक्त सुरक्षा उपायका लागी कर्मचारीलाई अभ्यस्त राख्न तालिम प्रदान गर्ने, आवश्यक उपकरण खरीद गर्ने तथा उडान सम्बन्धि पूर्वाभ्यास सम्पन्न गरीसकेका छौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य सुरक्षा सर्तकतासँगै निर्धक्क भएर यात्रा गर्न सकिने उहाँको भनाइ छ । 
 
विस. २०५५ मा स्थापना भएको यती एअरलाइन्सको हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् ।
-rss