काठमाण्डौ । मंगलबारको बजारमा पहिरो गएको छ । बजार परिसूचक(नेप्से) १७.३९ अंकले घटेर १४१३.७१ को विन्दूमा सीमित बन्न पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ३६ करोड २२ लाखमा सीमित बन्न पुगेको छ । 

बजारमा कारोबार रकम र परिसूचक समानान्तर ढंगले घट्नु राम्रो मानिँदैन । मंगलबार यस्तै अशुभ प्रवृति बजारमा देखिएको हो । 

लगानीकर्ता अहिले दोश्रो त्रैमासको बित्तीय विवरणको पर्खाईमा छन् । मंगलबारदेखि सूचिकृत कम्पनीहरुले दोश्रो त्रैमासिक विवरण समेत प्रस्तुत गर्न थालेका छन् । दोश्रो त्रैमासको अपरिस्कृत विवरण अधिकांश लगानीकर्ताले पर्खदा बजारमा खरिद चाप ह्वात्तै घटेको हो । 

यस्तै, कतिपय लगानीकर्ता नयाँ सरकार बनेपछि बजार बुम हुने आशामा समेत बसेका छन् । कतिपयलाई चाहि सेयर कारोबारमा भ्याट लाग्ने बिषयले समेत तर्साएको देखिन्छ । यस्तै, बजारमा फेरि तरलता अभावको समस्या चर्किने र लगानीयोग्य पूँजीको चरम अभाव भई ब्याजदर बढ्ने त्रासले समेत बजार घटाउन काम गरेको देखिन्छ । 

केही थरी लगानीकर्ताहरु भने साथमा भएको पैसा कम्पनीहरुको सार्वजनिक निश्कासनमा लगाइरहेका छन् । दोश्रो बजार भन्दा बढी सुरक्षित मानिने सामूहिक लगानीकोषको इकाई खरीदमा समेत लगानीकर्ताले मरिहत्ते गरेर पैसा खन्याउँदा र मंगलबार नै त्यस्ता २ वटा स्किमले २ अर्ब बराबरको इकाई सार्वजनिक गरेका कारण समेत यसले दोश्रो बजार घटाउन केही न केही भूमिका खेलेको छ । यसअलावा पछिल्लो समय अन्य सूचिकृत कम्पनीहरुको आइपीओ समेत धमाधम निश्कासन भइरहेको छ । यसतर्फ समेत लगानी ओइरिँदा दोश्रो बजार घट्न सहयोग पुगिरहेको बताइएको छ । 

जानकारहरुले दोश्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक हुन थालेको र यो क्रम तीव्र भएसँगै बजारको रौनक फर्कने दाबी गरिरहेका छन् । तर, तरलता अभावको समस्याको निराकरण नभइसकेको अवस्थामा यो समस्या यदि विकराल बन्यो भने दोश्रो त्रैमासको राम्रो विवरणले मात्रै पनि बजार थामिनेवाला भने देखिदैन । 

मंगलबार बजारमा के–के भयो ?
मंगलबार बजारका सबै समूहको सूचकमा पहिरो यो । बैकिंग समूह १२.३ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः ८८.६, १५.९८ र १७.७ अंकले घटे । यस्तै, जलविद्युत समूहमा १००.०८ अंकको पहिरो गयो भने व्यापारिक समूह २.८७ अंक, होटल समूह ५.२७, बित्त समूह ३.९२, उत्पादनमूलक ३.३४ र अन्य समूह ९.१६ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा आकर्षण घट्दा सेन्सेटिभ इण्डेक्स ३.७९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.२२ अंकले घट्न पुग्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ८ लाख ११  हजार ७ सय ५९ कित्ता सेयर ३६ करोड २२ लाख ८५ हजार ९२ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी सानिमा माई हाइडोले ५ करोड ४५ लाख बढीको कारोबार गर्यो । यस्तै, नबील बैंकले २ करोड २९ लाख, नेशनल लाइफले २ करोड १९ लाख, नेपाल लाइफले २ करोड ८ लाख बढीको कारोबार गरे । गुराँस लाइफ इन्स्योरेन्सको १ करोड २८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले १ करोड १७ लाख, एभरेष्ट इन्स्योरेन्सले ९४ लाख, एभरेष्ट बैंकले ९० लाख, इन्भेष्टमेन्ट बैंकले ८९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा एनआइबिएल प्रगति फण्डको मूल्य सबैभन्दा धेरै बढ्यो । यो म्युचुअल फण्डको इकाई मूल्य ४.०२ प्रतिशतले वृद्धि भयो । यस्तै, महुली सामुदायिक लघुवि बित्तीय संस्थाको सेयर मूल्य ३ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन सबैभन्दा बढी सिन्धु विकास बैंकका सेयरधनीले गुमाए । यो कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा घट्न पुग्यो । चिलिमे हाइड्रो र बुटवल पावर कम्पनीको मूल्य समेत ७ प्रतिशत भन्दा बढीले घट्न पुग्यो ।