काठमाण्डौ । गिरावट र धेरै लामो समयसम्म स्थिर देखिएको बजार मंगलबार १३.५१ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक(इण्डेक्स)सँगै कारोबार(टर्नओभर) पनि वृद्धि भएको छ । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले बढ्नुलाई विश्लेषकहरुले बजारमा क्रय शक्ति बढेको मान्ने गर्छन । मंगलबारको बजारलाई पनि यही रुपमा लिने हो भने आगामी दिनका लागि यो कारोबार राम्रो संकेतको रुपमा मान्नुपर्छ । तर एउटा मात्र समूहमा उछालका कारण बजार बढेकोले यसै भन्ने अवस्था चाहि छैन । 

मंगलबार समग्र बजारको वृद्धिमा जलविद्युत समूहको महत्वपूर्ण योगदान रह्यो । यो समूह ११५.९६ अंक(५.८८ प्रतिशत)ले वृद्धि भयो । उछालको गतिमा जलविद्युत समूह दौडिएको बेला अन्य समूह पनि हराभरा भए । यो दिन वाणिज्य बैंक(बैकिंग) समूह ७.०२ अंकले बढ्यो भने विकास बैंक र बित्त समूहमा क्रमशः २५.०६ र ४.४४ अंकले वृद्धि भए । यस्तै बिमा समूहमा ६६.०१ अंकको बढोत्तरी देखियो भने होटल समूह २२.३६ र अन्य समूह १.४५ अंकले बढे । 

'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.७८ अंकले वृद्धि भयो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९७ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ । यो दिन बजारमा १ सय ४२ कम्पनीका कुल १० लाख ११ हजार ३ सय २९ कित्ता सेयर ६२ करोड १४ लाख ४३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको छ । 

योे दिन सबैभन्दा धेरै सानिमा माई हाइडोले ४ करोड ६९ लाख बढीको कारोबार गर्यो । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ९३ लाख, प्रभू बैंकले २ करोड ५८ लाख, सनराइज बैंकले २ करोड २४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २२ लाख बढीको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र २ स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार धेरै कमाउनेमा जलविद्युत कम्पनी अगाडि देखिए । अपी पावर कम्पनीले सबैभन्दा धेरै ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढायो भने बुटवल पावर कम्पनीको सेयर मूल्य ८.४६ र सानिमा माइ हाइडोको मूल्य ८.२१ प्रतिशतले वृद्धि भयो । यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य साढे ७ प्रतिशतको हाराहारीले बढ्यो । 

यो दिन सबैभन्दा बढी सिनर्जी फाइनान्सको सेयर मूल्य घट्यो । यो कम्पनीको मूल्यमा ३.६३ प्रतिशतको गिरावट देखियो ।