काठमाण्डौ । स्थानीय निकायको चुनाव हुने निश्चित भएपछि बजारमा केही दिन उछाल आयो । धेरै लगानीकर्ताले सोचे, चुनाव नै भएपछि त झन् अवस्था अझ सहज होला । चुनावको नाममा सरकारको ठूलो धनराशि बजारमा आउला, तरलताको अवस्था केही सहज होला र लगानीमैत्री वातावरण बनी सेयरबजारमा समेत उछाल आउला भनेर छानी छानी सेयर किन्नेको होड नै चल्यो । स्थानीय निकायको चुनाव पनि भयो, बजार बढेन । एक चरणको चुनाव भइसक्दा समेत सोचेजस्तो तरलता सहज भएन । बजारमा उछाल आउला र आफूले खरीद गरेको सेयरले राम्रो रिटर्न देला भन्ने ठानेका सेयर लगानीकर्र्ता यतिबेला पुुर्पुुरोमा हात राखिरहेका छन् । बजारमा बियरिस टेण्ड नै त छैन, तर बजार अपेक्षित रुपमा बढ्न पनि सकेको छैन । आखिर बजारमा यस्तो किन भइरहेको छ ? स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल बजार बढ्न नसक्ने कारण बुँदागत रुपमा पेश गरेका छन् :

१.अरु वर्ष पनि यो सिजन बजारमा यस्तै मन्दी आउथ्यो, अघिल्लो वर्षहरुको त्यही ट्रेण्डको अहिले निरन्तरता मान्नुपर्छ । यो बेला अधिकांश कम्पनीहरुले आफ्नो साधारणसभा सकेका छन्, हकप्रद र बोनस समेत पारित भई वितरण समेत भइसकेका छन् । यस्तो अवस्थामा सूचिकृत कम्पनीहरुले तत्काल बोनस वा रिटर्न दिने संभावना छैन । यसकारण पनि लगानीकर्ता त्यति धेरै सक्रिय छैनन् । लगानीकर्ताहरुकै यो निस्क्रियताले पनि बजार बढ्न सकेको छैन । 

२.बजारमा तरलताको अवस्था निकै सकसपूर्ण थियो । पहिलो चरणको चुनाव हुनेबित्तिकै बजारमा उत्साह देखिएला, सरकारको ठूलो धनराशि चुनावी खर्चको रुपमा बजारमा आउला र तरलता केही सहज होला भन्ने धेरैलाई लागेको थियो । पहिलो चरणको निर्वाचन भए पनि अपेक्षित सुधार तरलतामा भएन । उल्टो तरलता अझ टाइट हुँदै गयो, ब्याजदर बढ्दै गयो । यी घटनाक्रमले लगानीकर्तालाई निराश बनाइदियो र बजारले गति लिन सकेन । 

३.स्थानीय निर्वाचनपछि पनि बढ्न नसकेको बजारलाई बजेटले सकारात्मक प्रभाव पार्ला कि भन्ने धेरैमा आशा थियो । स्टक ब्रोकरहरुसँग जोडिएको भ्याट सम्बन्धी इस्यूू सम्बोधन होला, बजारसँग सम्बन्धित अन्य आकर्षक कार्यक्रम आउला भन्ने आशामा लगानीकर्ताहरुले बजेटलाई पर्खिए । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्यो, तर लगानीकर्ताको प्रतिक्षा बेकार साबित भयो । लगानीकर्ता र बजारलाई उत्साहित तुल्याउने कुनै पनि कार्यक्रम बजेटमा समेटिएनन् । निराशामाथि अर्को निराशा थपियो र त्यो बजारमा प्रतिबिम्बित हुँदा नेप्से बढ्ने अवस्था रहेन । 

४.पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भई बजेट आइसक्दा समेत धेरै लगानीकर्तामा धैर्यताको बाँध टुुटेको थिएन । दोश्रो चरणको निर्वाचन पनि जेठ ३१ मै होला र त्यसले बजारको तरलताको अवस्थामा केही भए पनि मल्हमपट्टि लगाउला भन्ने धेरैमा अपेक्षा थियो । तर, मुलुुकको राजनीति यसरी बिग्रियो कि दोश्रो चरणको निर्वाचन २ पटकसम्म सारियो । अब असार १४ मा तोकिएको निर्वाचन समेत सोही मितिमा हुनेमा लगानीकर्ता ढुक्क देखिएका छैनन् । निर्वाचनकै क्रममा आएको भरतपुरको लफडा, प्रतिपक्षी दलसँग सत्तासीन दलको बढ्दो दूरी लगायतले राजनीतिक स्थायीत्व नहुने र अन्यौल अझै बढ्दै जाने खतराहरु लगानीकर्ताले देख्न थालेका छन् । राजनीतिक माहौल अझ बिग्रिएर बजार डामाडोल हुने हो कि भन्ने त्रासमा रहेका लगानीकर्ता अहिले पर्ख र हेरको रणनीतिमा छन् । यसकारण समेत बजार बढ्ने माहौल देखिएको छैन । 

५.बजारको अहिलेको मन्दी आर्थिक वर्षको सुरुवातसम्म यस्तै रहने देखिन्छ । असार मसान्तपछि अधिकांश कम्पनीहरुले बार्षिक बित्तीय तथा प्रगति विवरण सार्वजनिक गर्नेछन् । त्यसपछि बिस्तारै लाभांश घोषणा हुन थाल्नेछ र त्यसपछि मात्र बजारले नयाँ गति लिनसक्ने देखिन्छ । तर, त्यसअघि दोश्रो चरणको निर्वाचन पछिल्लो निर्धारित समयमै भयो भने र निर्वाचन खर्च राम्रै भोल्युुममा बजारमा आयो भने त्यसले तरलता केही सहज हुनेछ र त्यसपछि बजारमा सामन्य सुधार आउनसक्ने समेत देखिन्छ । अहिले नै बजार धेरै अंकले बढ्ने वा धेरै अंकले घट्ने अवस्था देखिन्न । अहिलेको अवस्थामा बजार १० अंकसम्मको घटबढमै अल्झिरह्यो भने पनि यसलाई सुखद नै मान्नुपर्छ । यो अवस्थामा बजार स्थिर हुनुु नै ठूलो कुरा हो ।