काठमाण्डौ । तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन हुने निश्चित भएपछि त्यसको प्रभावले बजार हराभरा भएको छ । सुरुमा घट्दो क्रममा रहेको बजार सत्तारुढ घटकको तीनवटा प्रदेशमा तोकिएकै समयमा निर्वाचन गर्ने सु निश्चितताले अन्तिम अवस्थामा ५.१ अंकले बढी १५८९.५९ अंकको उचाईमा फर्किएको छ ।

साताको अन्तिम कारोबार दिन अन्य समूह २.८९ अंकले घटे पनि बाँकी सबै समूहमा हरियाली छाएको हो ।

वणिज्य बैंक समूह ५.५७ अंकले बढ्यो भने बिमा, विकास बैंक र जलविद्युत  समूहमा क्रमशः ११.३४, ११.४५ र १.४४ अंकले बढे । यस्तै, होटल समूह १९.८८ अंक, बित्त समूह ३.४१ अंक र उत्पादनमूलक ८.१८ अंकले बढ्यो ।

'क' वर्गको कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स १.३१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४४ अंकले बढेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा कुल १ सय ५१ कम्पनीका ११ लाख १८ हजार ७ सय ५९ कित्ता सेयर ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपैयाँमा किनबेच भयो ।

हकप्रदको बुक क्लोजले एभरेष्ट बैंकतर्फ लगानीकर्ता तानिए । यो बैंकले ६ करोड २१ लख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ करोड १५ लाख, एभरेष्ट इन्स्योरेन्सले ३ करोड १० लाख, जनता बैंक नेपालले २ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्स २ करोड ३ लाख, प्रभू इन्स्योरेन्सले १ करोड ६१ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र ४ स्थान बिमा कम्पनीले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
साताको अन्तिम कारोबार दिन सेन्टल फाइनान्सले सबैभन्दा धेरै १० प्रतिशतले सम्पत्ति बढायो । यस्तै, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकको मूल्य घटेको छ । यो बैंकले ६.२५ प्रतिशतले सम्पत्ति गुमायो ।