काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजार स्थिर बनेको छ । बजारमा १.५२ अंकको झिनो गिरावट भई नेप्से परिसूचक १६३५.७५ विन्दूमा झरेको हो । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मानिन्छ । 

कारोबार रकम पनि बुधबारको भन्दा केही घटे पनि ९६ करोड माथिमै कायम रह्यो । धेरै कारोबार गर्नेमा बिमा कम्पनीहरु अगाडि देखिए । बिमा कम्पनीहरुले बिमा समितिमा धमाधम पूँजीवृद्धिको योजना पेश गरिरहेका र उनीहरुले ठूलो संख्यामा हकप्रद ल्याउने भएकोले समेत लगानीकर्ता यो दिन बैंकलाई छाडेर बिमा कम्पनीतर्फ झुुम्मिएका देखिइएको छ । 

बजारको बढोत्तरीमा प्रभाव पार्ने बैकिङ समूह ५.४४ अंक र विकास बैंक समूह ३.८९ अंकले घट्दा समग्र परिसूचक ओरालो लागेको हो । बैंक र बिमा केन्द्रीय सेयर बजारमा बिहीबार बिमा समूहको सूचकमा चाहि ७७.४ अंकको वृद्धि भयो । 

होटल समूह १६.४४ र जलविद्युत समूह ११.३१ अंकले घटे । बाँकी सबै समूहको सूचकमा हरियो पोतियो । बित्त समूह १.२८, उत्पादनमूलक १३.४७ र अन्य समूह ०.५८ अंकले वृद्धि भए । 

'क' वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ५५ कम्पनीका १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड १४ लाख बढीको कारोबार गर्यो । यस्तै, नेको इन्स्योरेन्सले ५ करोड ५३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ५ करोड ४९ लाख, प्रभू इन्स्योरेन्सले ४ करोड ६९ लाख, फरवार्ड माइक्रो फाइनान्सले ४ करोड २१ लख, सानिमा माई हाइडोपावरले २ करोड ८३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनी, २ स्थान वाणिज्य बैंक, एक स्थान विकास बैंक र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
हाम्रो विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमायो । यो बैंकको सेयर मूल्य ८.२३ प्रतिशतले वृद्धि भयो । आरएसडिसी लघुवित्त, सिनर्जी फाइनान्सको सेयर मूल्य साढे ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६.६१ प्रतिशतले घट्यो । गुड्विल फाइनान्सको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।