काठमाण्डौ । निरन्तर ओरालो लागेको बजारमा आफ्नो सेयर मूल्य घटेर न्यून विन्दूमा झरेपछि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले प्रस्तावित एफपीओ स्थगनको निर्णय गरेको छ । 

यो कम्पनीको ०७४ असार २३ गतेको बोर्ड बैठकले एफपीओ निश्कासनको प्रस्ताव गरेको थियो । एकसय रुपैयाँ अंकित दरको सेयरमा २०१ रुपैयाँ प्रिमियम थपी ३०१ रुपैयाँ प्रतिकित्ताको दरले ३१ लख ५७ हजार ८ सय ८३ कित्ता एफपीओ निश्कासन गर्न खोजिएको थियो ।

तर, दोश्रो बजारमा यो कम्पनीको मूल्य प्रतिकित्ता १९९ रुपैयाँमा झरिसकेको छ । एफपीओको प्रस्तावित मूल्यभन्दा दोश्रो बजार मूल्य निकै न्यून भएपछि यो कम्पनीले बाध्य भई एफपीओ स्थगनको निर्णय गरेको हो ।

एफपीओ जारी गरी पूँजी जुटाउने कम्पनीको योजना घट्दो बजारले विफल भएपछि यो कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ । कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले एफपीओ स्थगनका लागि विशेष साधारणसभा बोलाउने र त्यसको साटो पूँजी वृद्धिका लागि हकप्रद निश्कासनको बाटो अपनाउने विशेष प्रस्ताव लैजाने निर्णय गरेको हो । 

कम्पनीले एफपीओ निश्कासनको पूर्व एजेण्डा खारेजीका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेसँगै यो बिषयमा उत्पन्न आशंकामाथि टिप्पणी गर्दै कम्पनीका एक अधिकारीले कम्पनीले आफ्नै लगानीमा कावेली बि क्यासकेड जलविद्युत निर्माण गर्न दुई महिना भित्रमा पिपिए गर्ने योजना बनाएको बताए ।

दोश्रो बजारमा कम्पनीको सेयर मूल्य घटेर २०० तल झरिसकेको अवस्थामा ३०१ प्रतिकित्ताको दरले एफपीओ निश्कासन गर्ने प्रस्ताव नै अलपत्र पर्ने भएकोले पूँजी वृद्धिका लागि हकप्रदको सहज बाटो रोजिएको उनको भनाई छ । 

कम्पनीले आफ्नै लगानीमा कावेली बि क्यासकेड जलविद्युत निर्माण गर्न दुई महिना भित्रमा पिपिए गर्ने योजना बनाएको छ । यही परियोजना निर्माणका लागि सेयरधनीलाई हकप्रदको भारी बोकाउने नयाँ रणनीति कम्पनीले तय गरेको हो । कम्पनीले प्रस्ताव गरेको हकप्रद २ महिनाभित्रमा निश्कासन गर्ने गरी प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाइने बताइएको छ । 

यो कम्पनीको हालको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब ८६ करोडको उचाईमा पुुग्नेछ । ९.९४ मेगावाट क्षमताको कावेली बी क्यासकेडको प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा निर्माण गर्ने बताइएको छ । यसका लागि कम्पनीले एक अर्ब ७८ करोड रुपैयाँ जुटाउनु पर्नेछ। जसमा कम्पनीले अहिले प्रस्ताव गरेको हकप्रद र जगेडा कोष प्रयोग गर्दा ९५ करोड ४४ लाख रुपैयाँ सहजै जुट्ने र नपुुग ८३ करोड बढी ऋण लिनुपर्नेछ