काठमाण्डौ । निकै लामो समय ओरालो यात्रा हिँडिरहेको सेयर बजारमा सोमबार भने एकाएक सुधार देखिएको छ । यो दिन नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ भने कारोबार रकम पनि बढेको छ

यो दिन नेप्से परिसूचक ३५.९८ अंकले वृद्धि भई १३३६.३९ को विन्दूमा फर्किएको छ । कारोबार रकम पनि बढेर ४७ करोड ४८ लाख माथि पुगेको छ । कारोबार रकम र नेप्से परिसूचकमा समानान्तर ढंगले बढोत्तरी हुनु बजारको भविष्यका लागि सुखद संकेत हो । तर, एकदिनको बजारको प्रदर्शनले मात्रै बजार माथि जान्छ भन्न थालियो भने त्यो मूर्खता मात्र हुनेछ । 

आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार स्थिरतातर्फ उन्मुख हुँदै गएको कुरा आर्थिक सर्वेक्षणमा समावेश गरेका थिए । उनले सेयर बजारसँगै अर्थतन्त्र समेत सुधार हुँदै गएको निश्कर्ष पेश गरेका थिए । अर्थमन्त्रीको यो बुझाईले लगानीकर्तामा केही उत्साह बढाएको आँकलन गर्न सकिन्छ । जिम्मेवारी सम्हालेदेखि नै बजारको बिषयमा नकारात्मक टिप्पणी गर्दै आएका अर्थमन्त्री खतिवडाको पछिल्लो अभिव्यक्तिले सरकारले बजेटमार्फत बजार सुधारका लागि केही नयाँ कार्यक्रम ल्याउने संकेतको रुपमा समेत धेरैले बुझेका छन् । नीति तथा कार्यक्रममा सेयर बजारलाई गतिशील बनाउने कुरालाई समेत यस्तै आशासँग जोडेर हेरिएको छ ।

यस्तै, पछिल्ला दिन सरकारको खर्च गर्ने क्षमता बढ्दै गएपछि बैंक तथा बित्तीय संस्थाहरुमा तरलताको समस्या समाधान हुँदै गएको खबरले समेत लगानीकर्तालाई आशावादी बनाएको छ । 

यस्तै, सोमबार मात्रै सरकारले संघीय समाजवादी फोरमसँग २ बुँदे सहमतिसँगै फोरम समेत सरकारमा सहभागी हुने र यसले २ तिहाई बढी बहुमतको बलियो सरकार बन्ने र आर्थिक समृद्धिको मुद्धाले मूर्त रुप लिने लगानीकर्ताको बुझाई छ । यिनै सकारात्मक गतिविधि र खबरले बजार बढेको विश्लेषकहरु बताउँछन् । 

यो दिन 'क' वर्गका कम्पनीहरुमा अचाक्ली खरीद चाप देखिएको छ । यहीकारण 'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा ७.३७ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.७ अंकको वृद्धि भएको छ । 

होटल, बिमा, माइक्रो फाइनान्स र विकास बैंक समूहमा उछालको अवस्था देखिएको छ । होटल समूहको सूचक १०१.११ अंक(५.२५ प्रतिशत), बिमा समूह २७२.४४ अंक(४.०९ प्रतिशत), माइक्रोफाइनान्स समूह ५९.०६ अंक(३.४२ प्रतिशत) र विकास बैंक समूहमा ४८.२८ अंक(३.२२प्रतिशत)को उछाल देखिएको छ । 

यो दिन बैंकिंग समूह २५.४६ अंकले बढेको छ भने जलविद्युत समूह ४७.३६ अंक, बित्त समूह १०.३५ अंक, उत्पादनमूलक ४७.४५ अंक, अन्य समूह १७.५२ अंक तथा व्यापार समूह २.५३ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६८ कम्पनीका १३ लाख ५९ हजार ६ सय ७५ कित्ता सेयर ४७ करोड ४८ लाख ४६ हजार ९ सय ६१ रुपैयाँमा खरीदबिक्री भयो । 

सबैभन्दा बढी सिटिजन्स बैंकको ५ करोड ६ लाख बढीको संस्थापक सेयर तथा ग्लोबल आइएमई बैंकको समेत २ करोड २५ लाख बढीको संस्थापक सेयर नै खरीदबिक्री भएको छ । 

नेपाल बैंकले १ करोड ५८ लाख बढीको कारोबार गरेको बजारमा ग्लोबल आइएमई बैंकको १ करोड ४८ लाख बढीको साधारण सेयर समेत किनबेच भएको छ । 

इन्भेष्टमेन्ट बैंकले १ करोड ११ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७ लाख, प्रभू इन्स्योरेन्सले १ करोड ७ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड २ लाख, सानिमा माई हाइड्रोले १ करोड २ लाख र स्वरोजगार लघुवित्तले ९१ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ३ कम्पनीले पैसा छापे । शिखर इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.६५ प्रतिशतले वृद्धि भयो । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य ९.४२ प्रतिशत र किसान माइक्रोफाइनान्सको मूल्य ९.२० प्रतिशतले बढ्यो । ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म मूल्य बढेका कम्पनीहरुको संख्या ३० रहेको छ । 

मेगा बैंकले सबैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा गुमाएको छ । यो बैंकको आजदेखि सेयर कारोबार खुलेको हो । करिब ५०० दिनसम्म सेयर कारोबार निलम्बनमा परेका लगानीकर्ताले बैंकले बढी दुःख दिएपछि सेयर बिक्रीको हतारो देखाएका छन् । यो बैंकले ५०० दिनसम्म लगानीकर्ताको लगानी बन्धक बनाएको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ । यहीकारण कारोबार सुरु भएको ३० मिनेटमै बिक्री चाप अधिक हुँदा मेगाको सेयर कारोबारमा सर्किट लगाउनुपरेको थियो । 

मेगा बाहेक पोखरा फाइनान्सका संस्थापक सेयरधनीले समेत यो दिन ८.६९ प्रतिशतले सम्पत्ति गुमाए ।