-सुरेश जोशी
पूँजी बजार कुनै पनि अर्थव्यवस्थाको जीवनरेखा हो । प्राथमिक बजार मार्फत समाजमा छरिएर रहेको पूँजी एकत्रित भई उत्पादनशील क्षेत्रमा परिचालित हुन जान्छ । देशको आर्थिक विकासका लागि एक विकसित र जीवन्त पूँजी बजार पूर्व आवश्यक नै हो । 
 
विकसित पूँजी बजारले उद्यमशीलताको माध्यमबाट समग्र विकासका सपनाहरुलाई वास्तविकतामा परिणत गरिदिन्छ । 
 
पूँजी बजारको विकास निश्चित प्रमुख कारणहरु जस्तै बचतको उपलब्धता, पारस्परिक हितको मध्यस्थताको उचित संगठन र लगानीको नियमन आदिमा निर्भर रहन्छ ।
 
नेपालको पुँजी बजारको सार्वजानिक र निजी क्षेत्रका लागि श्रोतको गतिशीलता, आर्थिक वातावरणको साथै अधिक प्रतिस्पर्धा र बजारउन्मुखमा महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा पुँजी बजारको माध्यमबाट विभिन्न क्षेत्रहरु जस्तै बैंक तथा वित्तीय संस्थाहरु, बीमा, जलविद्युत उत्पादन तथा प्रशोधन, व्यापार, होटल जस्ता कम्पनीहरुले धितोपत्र निश्कासन गरी देशको आर्थिक विकासमा अप्रत्यक्ष सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् । 
 
वि.स.२०४६ मा प्रजातन्त्रको पुनः स्थापना पश्चात सरकारले अबलम्वन गरेको उदार आर्थिक नीतिका कारण नेपालका पूँजी बजारको विकासले गति लिन थाल्यो । फलस्वरुप आज नेपालको पुँजीबजारमा क्रियाशील संस्थाहरु देहाय बमोजिम रहेका छन्:
 
नेपालको पूँजी बजार अझै पनि अल्पविकसित अवस्थामा रहेको छ । धितोपत्र बजारको मुख्य हिस्सा बैंक तथा वित्तीय संस्थाले ओगटेका छन् । पूँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीको प्रवेशबाट मात्र पूँजीबजारले देशको आर्थिक स्थिति यथार्थ रुपमा प्रतिविम्बित गर्दछ भन्ने मान्यता अनुरुप नेपाल सरकारले आ.व.२०७५।०७६ को बजेटमार्फत एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेडलाई प्रारम्भिक निश्कासनका लागि अनुमति प्रदान गरिसकेको छ । पूँजी बजारबाट मुख्यतया निम्न आर्थिक उपलब्धि प्राप्त गर्न सकिन्छ:
१.उच्च उत्पादकत्व
२.उच्च ज्याला दर 
३.रोजगारीको अवसर
४.आर्थिक विकास
५.आर्थिक स्थिरता
 
कुनै पनि राष्ट्र चाहे त्यो पूँजीवादी, समाजवादी वा मिश्रित अर्थब्यवस्था नै किन नहोस् ती राष्ट्रका लागि औद्योगिकरणअर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको हुन्छ । अझ हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका लागि औद्योगिक विकास अपरिर्हाय नै रहेको हुन्छ । आर्थिक बृद्धिलाई प्रत्यक्ष सघाउ पुर्याउने गरी देशभरि छरिएर रहेका बचतलाई दीर्घकालीन बचत उपकरणमार्फत उत्पादनशील क्षेत्रका साना, मध्यम तथा ठूला उद्योगहरु स्थापनाका लागि पूँजी बजारको महत्वपूर्ण संयन्त्रको रुपमा कार्य गर्न सक्दछ । केवल औद्योगिक विकासले मात्र गरिबीको खराब चक्रलाई तोड्न सक्छ भन्ने मान्यता रहेको छ ।
 
लामो समयको राजनैतिक आरोह-अवरोह पश्चात् नेपालमा स्थायी सरकार गठन भई मुलुक अब आर्थिक विकासको पथमा अग्रसर भएको छ । सन्तुलित एवं विश्वसनीय विकास अबको आवश्वकता हो । लगानीको वातावरण बन्नु विकासको पूर्वशर्त हो । लगानीमैत्री वातावरणको विकास गरी औद्योगिक क्षेत्रको विकास हुनुपर्नेमा यो क्षेत्रको विकास भइरहेको छैन । कुल ग्राहस्थ उत्पादनमा ६ प्रतिशत मात्र यो क्षेत्रको हिस्सा रहेको छ । यसका लागि पूँजी बजारको विकास गरी अधिकतम रुपमा उत्पादनमूलक औद्योगिक क्षेत्रको सहभागिता र हिस्सा बढाउन जरुरी छ । 
 
परम्परागत रुपमा बर्षैदेखि चलिआएको कृषिमा आधारित अर्थतन्त्रबाट तीव्र गतिमा यो अर्थतन्त्रलाई औद्योगिक र सेवामुखी अर्थतन्त्रमा रुपान्तरण गर्न जरुरी छ, जुन पूँजी बजारको माध्यमबाट सम्भव छ । नेपाल संघीय राज्यमा गइसकेको परिपे्रक्ष्यमा आम नेपालीको समृद्धिको आकांक्षा पूरा गर्न पनि लगानीको आवश्यकता पर्दछ । हामीसंग लगानीका लागि पूँजीको अभाव छ । स्थानीय सरकारले संघको स्वीकृतिमा आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गरेको छ । स्थानीय तहमा सेयर निश्कासन गरी बचत संकलन भई पूँजी परिचालन हुन सक्दछ । पूँजी परिचालन गर्न पूँजी बजार सशक्त माध्यम हुन सक्छ । 
 
अन्त्यमा, विश्वमै स्टक एक्सचेञ्जलाई अर्थतन्त्रको ब्यारोमिटरको रुपमा लिइन्छ । सबै क्षेत्रको कम्पनी, उद्योगको प्रतिनिधित्व स्टक एक्सचेञ्जमा हुने भएकाले त्यहाँको  बजार परिसूचकले मुलुकको  समग्र आर्थिक गतिशीलता प्रतिबिम्वित हुन जान्छ । हामीकहाँ बैंक तथा वित्तिय संस्थाको मात्र प्रभूत्व रहेको, देशब्यापी रुपमा पूँजी बजारको विकास नभइसकेको कारणले नेपालको नेप्से परिसूचकलाई समग्र देशको अर्थतन्त्रको ब्यारोमिटर भन्न सकिने अवस्था छैन । 
 
तसर्थ, मुलुक संघीय व्यबस्थामा गईसकेको, स्थानीय निकायहरुलाई पनि संविधानले नै स्वायत्त र सबल बनाइसकेको अवस्थामा पूँजीबजारको आवश्यकता महसुस भएको छ । मुलुकको सर्वाङ्गीण विकास न्यायोचित वितरणबाट मात्र सम्भव छ । यसर्थ एक सवल र प्रभावकारी पूँजी बजारको विकास गरी सरकारले पूँजी परिचालनको माध्यमबाट समग्र मुलुकको सन्तुलित र न्यायोचित विकास गर्न सक्दछ ।
(लेखक नेपाल स्टक एक्सचेञ्जमा कार्यरत छन्। यो आलेख नेप्सेबाट प्रकाशन हुने नेप्से न्यूज मेकरबाट साभार गरिएको हो ।)