काठमाण्डौ । आइतबारदेखि लयमा फर्किएको बजारमा सोमबार उछाल आएको छ। यो दिन नेप्से परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ को विन्दुमा पुगेको हो।

लामो समयको लकडाउनपछि अघिल्लो सातादेखि खुलेको बजारमा केही दिन अस्वभाविक उतारचढाव देखिए पनि आइतबारदेखि भने बजारले स्थिरताको बाटो समाएको थियो। त्यही क्रमलाई निरन्तरता दिँदै बजार आज दोहोरो अंकले बढेको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त हुनु, ब्याजदर निरन्तर घट्नु, आगामी आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन कर्जाको सीमालगायतका विषयमा लगानीमैत्री व्यवस्था गर्ने विश्वास बलियो बन्दै जानु, कोभिड–१९ का कारण व्यापारका अन्य क्षेत्र सुनसान हुँदा त्यहाँको लगानीसमेत सेयरबजारमा भित्रिनु, बजार खोल्नुअघि नियामक धितोपत्र बोर्डले सुधारका केही काम गरी लगानीकर्ताको मनोबल उकास्नुलगायतका कारणले बजारमा उछाल आएको हो। 

बजारका लागि आवश्यक वातावरण निकै राम्रो रहेको र उच्च खरिदचाप कायमै रहेकोले बढोत्तरीको यो यात्रा लामो समयसम्म रहन सक्ने बजारका जानकार दाबी गर्छन्। 

यो दिन राम्रा र बलिया कम्पनीमा उच्च खरिदचाप परेका कराण सेन्सेटिभ इन्डेक्स ६.३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इन्डेक्समा २.१४ अंकको वृद्धि भयो। 

आजको दिन नेप्से उपसमूहमा रहेका १२ उपमसमूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ।

आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा २७४.४ अंक र जीवन बीमा समूहमा २६६.४३ अंकको बढोत्तरी भएको छ। त्यस्तै बैंकिङ समूहमा २१.२९ अंक, व्यापार समूहमा १४.४७ अंक, होटेल्स समूहमा ७४.६७ अंक, विकास बैंक समूहमा १४.१५ अंक, जलविद्युत समूहमा १२.४७ अंक, वित्त समूहमा २.५१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४५.२३ अंक, अन्य समूहमा २९.६२ अंक र लघुवित्त समूहमा ८४. ११ अंकको बढोत्तरी भएको छ। 

यो दिन म्युचुअल फन्ड समूहमा ०.०६ अंकको गिरावट आयो। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन नेप्सेमा सूचीकृतमध्ये १७६ कम्पनीका २७ लाख ३१ हजार ४९८ कित्ता सेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँमा कारोबार भयो। 

आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भयो। 

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ८० लाख रुपैयाँ, प्रभु बैंकको संस्थापक सेयरको ४ करोड ८४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ९ लाख रुपैयाँ, एनएमबी बैंकको २ करोड ६० लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ४९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २ करोड १० लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १ करोड ९१ लाख रुपैयाँ र एनएसीसी बैंकको १ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

आजको दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। ग्लोबल आईएमई लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यले १० प्रतिशतले बढ्यो भने सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनाइटेड इन्स्यारेन्स र स्वदेशी लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

आज राधी विद्युत् कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा घट्यो।