काठमाण्डौ । तपाई कार कुदाउनुहुन्छ भने यसको चाबीलाई कति जतन गर्नुपर्छ भन्ने कुरा बुझेकै हुनुपर्छ । तर, अब यस्तो प्रविधि आउन लागेको छ, जसमा तपाईले चाबीको रुपमा आफ्नो औंला प्रयोग गरे पुग्छ । आफ्नो फिंगर(औंला)को सहायताले तपाईले आनन्दले कार स्टार्ट गर्न सक्नुहुनेछ । 

यति मात्र होइन, तपाईले औंलाकै प्रयोग गरेर कारलाई लक र अनलक समेत गर्न सक्नुहुनेछ । 

हुण्डाई मोटर कम्पनीले यसप्रकारको संसारकै पहिलो स्मार्ट फिंगरप्रिन्ट टेक्नोलोजीको घोषणा गरेको हो । हुण्डाईले यो प्रविधिको प्रयोग आउने वर्ष आउन लागेको ‘एसयूभी सान्टा फे’मा गर्नेवाला छ । सन् २०१९ को पहिलो त्रैमासभित्र यो प्रविधि जडित कार बजारमा आउने अनुमान गरिएको छ । 

यसरी गर्छ प्रविधिले काम
कारलाई अनलक गर्नका लागि चालकले आफ्नो औंला ढोकाको हेण्डलमा जडित सेन्सरमा राख्नुपर्नेछ । प्राप्त फिंगरप्रिन्टको पहिचानको सूचना कारमा जडित फिंगरप्रिन्ट कन्टोलरसम्म पुग्नेछ र कार अनलक हुनेछ । यसरी चालकले कारलाई फिंगरप्रिन्ट स्क्यानिङ सेन्सरमा आफ्नो फिंगर राखेर स्टार्ट गर्न सक्नेछ । यो प्रविधिबाट अनुकुलित ड्राइभिङ वातावरण समेत तय हुने विश्वास गरिएको छ । यसमा कार राख्ने पोजिशन, स्टेयरिंग ह्वीलको पोजिशन र साइड मिररलाई चालकको आवश्यकता अनुसार आफैं एडजस्ट गर्न सकिनेछ । 

हुण्डाई मोटरको भनाईमा आउने समयमा यो स्मार्ट फिंगरप्रिन्ट प्रविधिमा कारभित्रको तापमान र  स्टेयरिङ ह्वील पोजिशनलाई समेत अटोमेटिक तरिकाबाट एडजस्ट गर्ने प्रविधि जडान गरिनेछ । 

हुण्डाईले स्मार्ट फिंगरप्रिन्ट टेक्निक सुरक्षित हुने समेत दाबी गरेको छ । यो प्रविधिले निकै कुशलतापूर्वक सही र नक्कली औंलालाई चिन्नेछ । पारम्परिक चाबीको तुलनामा यो प्रविधि ५ गुणाले बढी सुरक्षित रहेको बताइएको छ ।