काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको साधारण सेयरको थप निश्कासन(एफपीओ) ६५ हजार ९ सय ५ जनाले पाएका छन् । 

एफपीओ पाउनेमध्ये ५ जनाले ११ कित्ताको दरले र बाँकी सबैले १० कित्ताको दरले पाएका हुन् । बाँकी १ लाख २० हजार ५ सय १९ को हात रित्तो भएको छ । 

प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा कुल १ लाख ८९ हजार ३ सय २१ आवेदकमध्ये १ लाख ८६ हजार ४७५ जनाको आवेदन स्वीकृत भएको छ भने २ हजार ८ सय ४६ जनाको आवेदन रद्द भएको छ ।

कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले  एफपीओ बिक्री गरेको हो ।

एफपीओ बिक्रीपछि प्रिमियमबाट मात्रै यो कम्पनीले ४६ करोड १० लाख बढी आम्दानी गर्नेछ । यो रकम सञ्चित कोषमा जम्मा हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले यो कम्पनीले आगामी दिनमा प्रिमियमबाट प्राप्त रकमको समेत सदुपयोग गर्दै लगानीकर्तालाई निकै राम्रो बोनस सेयर दिनसक्छ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी बढेर साढे ५१ करोडको हाराहारीमा पुुग्नेछ । यो कम्पनीले हालै आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यो बोनस एफपीओ परेका लगानीकर्ताले समेत पाउनेछन् । बोनसपछि कम्पनीको चुक्तापूँजी  बढेर ५८ करोड ४१ लाखको उचाईमा पुग्नेछ।