काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरेको आइपीओ बुधबार बिहान बाँडफाँड भएको छ । 

यो कम्पनीको आइपीओ ७६ हजार ४ सय ४० आवेदकले पाएका छन् । धितोपत्रको सार्वजनिक निश्कासनमा प्रत्येक लगानीकर्ताले १० कित्ता अनिवार्य पाउने प्रावधानअनुसार गोलाप्रथाबाट ७६ हजार ४ सय ४० जनाले आइपीओ पाएका हुन् । 

सेयर निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा भएको बाँडफाँड कार्यमा बताइएअनुसार आइपीओमा परेका १ लाख ७५ हजार ४ सय ७२ आवेदनमध्ये १९४ वटा आवेदनमार्फत १२ हजार ७ सय बढी कित्ताका लागि परेका प्रस्ताव रद्ध भएका छन् । 

आइपीओमा १ लाख ७५ हजार २ सय ७८ जनाले आवेदन दिएका थिए । कम्पनीको सेयरमा मागको तुलनामा १८ गुणा बढीको हाराहारीमा प्रस्ताव परेको थियो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको थियो ।

स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ९१ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।  

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि खरीद गर्न सकिने व्यवस्था गरेको थियो । 

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन हुन लागेको हो । 

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा  संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गरिएको हो ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।

तपाईलाई पर्यो कि परेन ? सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्