-भक्तराज रसाइली
काठमाण्डौ । हालै नेपाल राष्ट्रबैंकबाट मार्जिन लेण्डिङ्ग कार्यविधि स्वीकृत       भएको छ । अब योसँगै उक्त सेवा सेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालयबाट नै पाउनेछन् । यसअघि लगानीकर्ताले बैंकको झञ्झटिलो प्रक्रिया पूरा गरेपछि मात्र सेयर धितो कर्जा पाउने गर्थे ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ब्रोकर फर्मले धितोको सेयर बजार मूल्यको ५० प्रतिशत ऋण दिनेछन् र यदी धितोको मूल्य ४० प्रतिशतले घटेको खण्डमा उनीहरुले मार्जिन कल गर्न सक्ने र अर्को थप ३० प्रतिशत घटेको खण्डमा धितो लिक्विडेट गर्नसक्ने समेत व्यवस्था कार्यविधिमा उल्लेख छ।

सूचीकृत कम्पनीहरुमध्ये नेप्सेले छानेका कम्पनीहरुलाई मात्र ऋण प्रवाह गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष प्रियराज रेग्मीकाअनुसार ब्रोकर फर्मले बैंकसँग सम्झौता गरी सेयर लगानीकर्ताहरुलाई धितोको ५० प्रतिशतसम्म ऋण थप प्रिमियमसहित चलनचल्तीको बजार ब्याजदरमा उपलब्ध गराउने व्यवस्था रहेको छ । 

‘मार्जिन लेन्डिङ्गमा ३ पार्टी रहनेछन् । बैंक, लगानीकर्ता र ब्रोकर । ब्रोकर भने मध्यस्थकर्ताका रुपमा रहन्छन् ।’ रेग्मीले बिजशालासँग भने–‘बैंकसम्म लगानीकर्ता पुग्नुपर्दैन र झञ्झट खेप्नुपर्ने छैन । बैंकसँग हाम्रो  डिल हुन्छ र लगानीकर्ताले बैंकभन्दा सस्तो र सहज ढंगले ऋण पाउनेछन्।’

जस्तो, एउटा लगानीकर्ताले ५० लाखको सेयर धितो राखेर ऋण लिंदा उक्त सेयर ब्रोकरकोमा  धितो राखेर २५ लाख दिइन्छ ।

‘मार्जिन लेन्डिङ्गले बजारमा नगद प्रवाह गर्दै थप विस्तार गरिदिन्छ।’ उनले भने ः यसले मूलतः झञ्झटरहित लेण्डिङ्ग कार्य हुनेछ।’

धितोपत्र बोर्डले तीन महिनाअघि नै नेप्सेले तयार गरेको मार्जिन लेण्डिङ सम्बन्धी कार्यविधि स्वीकृत गरी नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

दलाल व्यवसायी र लगानीकर्ताले लामो समयदेखि मार्जिन कारोबारका लागि माग गर्दै आएको भए पनि गत वर्ष धितोपत्र बोर्डको निर्देशनपछि मात्र नेप्सेले कार्यविधि निर्माण गरेको हो ।

बोर्डले मार्जिन कारोबारका लागि दलाल व्यवसायी पनि वित्तीय रुपमा मजबुत हुनुपर्ने भन्दै दलाल व्यवसायीको पुँजी दुई करोड रुपैयाँ पुर्याएको छ । 
सबै दलाल व्यवसायीले गत आर्थिक वर्षमा नै उक्त पुँजी पुर्याइसकेका छन् । उनीहरुले आफ्नो नेटवर्थको दुई गुणासम्म अर्थात औसत करिब १० करोड रुपैयाँँसम्म ऋण दिन सक्छन् । 

उनीहरुले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर नेप्सेले स्वीकृत गरेका कम्पनीको धितोमा मात्र ऋण दिन सक्नेछन् ।