काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति गरेको छ । 

शुक्रबार बैंकले प्रकाशन गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ७६ करोड ११ लाख खूद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा बढेर ९१ करोड ७७ लाखको उचाईमा पुुगेको हो । 

यो अवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको यो अवधिमा १ अर्ब ३२ करोड खूद ब्याज आम्दानी रहेकोमा यो वर्ष बढेर १ अर्ब ६८ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा ग्लोबल आइएमई बैंकले ८४ अर्ब ४ करोड निक्षेप संकलन गरी ७१ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६३ अर्ब ८२ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको थियो । 

दोश्रो त्रैमाससम्म बैंकको चुक्तापूँजी ७ अर्ब १५ करोड कायम भएको छ भने जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । यो बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायवल डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया समेत सुरु गरिसकेको छ । 

बोनस र यी दुुई बित्तीय संस्था अक्वायरपछि बैंकको चुक्तापूँजी ८ अर्ब पुुग्नेछ । 

ग्लोबल आइएमई बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो वर्ष यो अवधिमा २४ रुपैयाँ ७० पैसा मात्र थियो । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात १६.६९ गुणा कायम भएको छ ।