काठमाण्डौ । एनएमबी बैंकको एफपीओ निश्कासन बन्द भएको ४ दिनमै बाँडफाँड भएको छ । एनएमबी बैंकको मुख्य कार्यालयमा बिक्री प्रबन्धक नागरिक लगानीकोषले एक समारोहको आयोजना गरी एफपीओ बाँडफाँड गरेको हो । 

एफपीओका लागि आवेदन दिएका ६९ हजार ६ सय ४६ मध्ये ६९ हजार ६ सय २६ मात्र योग्य आवेदक बनेका छन् । कुल २० आवेदन रद्ध गरिएको छ ।

बैंकले प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँको दरले ३ अर्ब ८० करोड  १२ लाख ४९ हजार २ सय ७९ रुपैयाँ बराबरको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर जेठ ३० गतेदेखि निश्कासन गरेको थियो । 

असार २८ गते बन्द भएको एफपीओमा १ करोड १४ लाख ८३ हजार २ सय ५० कित्ता खरीदका लागि आवेदन परेको थियो । एफपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम २ लाख २५ हजार २ सय कित्ता आवेदनबाट माग गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

एनएमबीको एफपीओमा मागभन्दा ६३ हजार ७ सय ४७ बढी कित्ताका लागि आवेदन प्राप्त भएको थियो । 

धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका अनुसार सबै आवेदकलाई सुरुमा १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको थियो । त्यसपछि २० कित्तादेखि अधिकतम २ लाख २५ हजार २ सय कित्ताका लागि आवेदन गर्नेलाई थप १० कित्ता बाँडिएको थियो । यसैप्रकारले क्रमशः ३० कित्तादेखि १ लाख ५० हजार १ सय ५० कित्तासम्मको आवेदन गर्नेलाई आवेदनको समूहअनुसारको थप कित्ता बाँडफाँड गरिएको छ । 

यसरी बाँडफाँड गर्दा १ लाख ५० हजार १ सय ५० कित्तासम्मको आवेदन गर्नेले माग गरे बराबरको नै सेयर प्राप्त गरेका छन् ।

न्यूनतम १० कित्तादेखि १ लाख ५० हजार १ सय ५० कित्तासम्मका लागि कुल ६९ हजार ६ सय २४ आवेदन दिएका थिए । उनीहरुलाई कुल १ करोड १० लाख ४३ हजार ७ सय १० कित्ता बाँडफाँड गरिएको छ । 

यसैगरी, १ लाख ५० हजार १ सय ५० भन्दा बढी कित्ताका लागि दुईवटा आवेदन परेका थिए । उनीहरुमध्ये २ लाख १० हजार कित्ताका लागि आवेदन दिनेलाई सुरुको बाँडफाँड प्रक्रिया बमोजिम १ लाख ५० हजार १ सय ५० कित्ता तथा २ लाख २५ हजार २ सय कित्ता खरीदका लागि आवेदन दिनेलाई सुरुको बाँडफाँड प्रक्रिया बमोजिम नै १ लाख ५० हजार १ सय ५० कित्ता बाँडिएको छ । 

त्यसपछि बाँडफाँड गर्न बाँकी रहेको कित्ता ७१ हजार १ सय ५३ मध्ये अधिकतम कित्ताका लागि आवेदन दिने यिनै दुईलाई ३५ हजार ५ सय ७६ को दरले पुनः बाँडफाँड गरिएको नागरिक लगानीकोषले जनाएको छ । बाँकी रहेको १ कित्ता सबैभन्दा अधिक कित्ताका लागि आवेदन दिनेलाई उपलब्ध गराइएको छ । यसरी सबैभन्दा धेरै कित्ताका लागि आवेदन दिने २ जनालाई कुल ३ लाख ७१ हजार ४ सय ५३ कित्ता बाँडफाँड गरिएको छ ।