– कृष्ण न्यौपाने

दमौली । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल निर्माण शुरु गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण गरेको हो ।

विश्वमाझ प्रख्यात बन्दीपुरमा धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर पदमार्ग पर्खाल निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ ।

गत आवमा रु दश लाखको लागतमा तीन सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा रु ६० लाखको लागतमा एक हजार तीन सय मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करीब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करीब रु दुई करोड बजेट अनुमानित गरिएको अध्यक्ष थापाले बताउनुभयो । “गत वर्ष र चालु आर्थिक वर्षमा गरी एक हजार ६ सय मिटरको काम सम्पन्न हुन्छ, बाँकी अर्को वर्षमा गर्ने गरी बजेट विनियोजन गर्छौं,” थापाले भन्नुभयो । 

डाँडामा सवारीसाधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यता छ । जसकारण निर्माण लागत केही बढ्न सक्ने अनुमान गरिएको छ । 

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ,” थापाले भन्नुभयो । 

बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सिसाको दृश्यावलोकन स्तम्भ निर्माणको तयारी पनि थालेको छ । 

बन्दीपुरको विकासका लागि गुरुयोजना बनाएर नै अगाडि बढेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले बन्दीपुरको बीसवर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रका रुपमा विकास गर्ने गाउँपालिकाको सोच छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने थापाले जानकारी दिनुभयो ।
 

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाइ बन्ने गरेको छ ।