काठमाण्डौ । पेट्रोल पम्पहरुबाट लगाइने पेट्रोल वा डिजेल तिरेको रकम अनुसार पाइँदैन, कम परिमाण पाइन्छ, ठगी हुन्छ वा मिसावटको समस्या पनि हुन्छ भन्ने जस्ता अनेकन गुनासाहरु आउने गर्छन् । पेट्रोल डिजेल भर्ने क्रममा यस्ता गुनासा स्वभाविक हुन्छन्, कारण पेट्रोल भर्दा धेरै मानिस ठगीको शिकारमा पर्ने गर्छन् । कतिपय अवस्थामा ठगी हुन्छ भन्ने जान्दा जान्दै पनि हामी, सामान्य थपघट त भइहाल्छ नि भनेर छाडिदिन्छौ । तर एक सचेत ग्राहकका लागि यो ठीक होइन, तपाईंले कदम कदममा सचेत बन्नुपर्छ । आज हामी तपाईलाई यस्तै ८ टिप्सहरु भन्न गइरहेका छौ, जसलाई फलो गरेर तपाई पेट्रोलपम्पबाट हुने ठगीबाट बच्न सक्नुहुन्छ । 

डिजिटल मिटर भएको ठाउँबाट मात्र तेल भर्ने
पेट्रोल भर्दा सधैं डिजीटल मिटर भएको पम्पबाट मात्र भर्ने गर्नुहोस् । पुुरानो खालको मेसिन राखिएको पेट्रोल पम्पबाट बढी ठगी हुने अध्ययनको क्रममा देखिएको छ । यस्ता मेसिनबाट हुने ठगीहरुको न तपाईलाई थाहा हुन्छ, न तपाईंले ठगी भयो भनेर दाबी गर्ने आधार नै हुन्छ । यही कारण पछिल्लो समय नेपालका पुराना पेट्रोल पम्प मेसिनहरु हटाउन थालिएको छ, धेरैमा डिजिटल मिटरवाला पम्प लगाउन थालिएको छ । 

मिटर पटक–पटक रोकिन्छ भने सावधान हुने
कतिपय समयमा तपाईंले पनि देखेको हुनुपर्छ कि पेट्रोल भर्ने समयमा मिटर पटक–पटक रोकिने गर्छ । पटक–पटक रोक्दै तपाईलाई पेट्रोल दिइने गरिन्छ भने सावधान बन्नुपर्छ । जानकारहरुका अनुसार मिटर पटक–पटक रोकिँदा तपाईले कम तेल पाउनुहुन्छ, यो एकप्रकारको ठगी हो । यसकारण कुनै पेट्रोलपम्पमा यस्तो मेसिन छ भने त्यहाँबाट तेल नभर्नुहोस्, यो विषयमा स्थानीय प्रशासनलाई जानकारी दिन सकिन्छ । 

मिटरबाट ध्यान नहटाउने
अधिकांश मानिस जब आफ्नो कार तथा मोटरसाइकलमा पेट्रोल भरिरहँदा मिटरतर्फ ध्यान दिंदैनन् । कतिपय त कारभित्रै बस्छन् र पेट्रोल पम्पका कर्मचारीलाई विश्वास गरेर पेट्रोल भर्छन्, यो गलत हो । तपाईको यस्तो बेवास्ताको फाइदा पेट्रोलपम्पकर्मीहरुले उठाउने गर्छन् । त्यसकारण पेट्रोल भर्ने समयमा कारबाट उत्रिनुहोस्, बाइक छ भने पेट्रोल पम्पको डिजिटल मेसिन र पेट्रोलपम्पकर्मीका सबै गतिविधिलाई ध्यान दिएर हेर्नुपर्छ । यसो गर्नुभयो भने पेट्रोलपम्पबाट तपाईले ठगिने संभावना निकै कम हुन्छ । 

मिटरमा जिरो हेर्ने
कतिपय अवस्थामा तपाईलाई कुरामा भूूल्याएर पेट्रोलपम्पकर्मीले मिटरमा तेलको परिमाणमा जिरो त देखाउँछन्, तर मूल्यमा चाहि अघि जिरो हुँदैन । यस्तो अवस्थामा तपाई सजिलै ठगीमा पर्न सक्नुहुन्छ । यसकारण, आफूूले पाएको पेट्रोल परिमाणसँगै मूल्यतर्फ पनि ध्यान दिनुहोस् । परिमाण र मूल्यतर्फ पेट्रोल लाउनुुअघि जिरो हुनैपर्ने कुरामा पनि विशेष ध्यान दिनुहोस् । जुन पेट्रोल पम्पमा पहिला नै तपाईले माग गरे अनुसारको पेट्रोल परिमाण र रकम समेत सेट गरेर पेटोल भरिन्छ, त्यहाँबाट ठगी हुने संभावना निकै कम हुन्छ । 

रिडिङ स्टार्टमा पनि ध्यान दिने
पेट्रोल पम्पको मेसिनमा जिरो अंकमा तपाईंले ध्यान दिनुभयो, तर रिडिङ स्टार्ट कसरी भइरहेको छ भन्नेतर्फ ध्यान दिनुुभएन भने पनि ठगीमा पर्न सकिन्छ । जस्तै, मिटर रिडिङ स्टार्ट सिधै १०, १५ वा २० बाट हुन्छ भने त्यो ठगी हो । मिटर रिडिङ कमसेकम ३ बाट स्टार्ट हुनुुपर्छ, ३ भन्दा बढीले जम्प भयो भने त्यहाँ ठगी भइरहेको बुुझ्नुपर्छ । ३ भन्दा बढी अंकले जति रिडिङ स्टार्ट जम्प हुन्छ, तपाईले त्यति नै थोरै तेल पाउने संभावना बढी हुन्छ । 

तीव्र गतिमा मिटर चलिरहे सचेत हुने
तपाईले पेट्रोल अर्डर गर्नुभयो र मेसिन तीव्र गतिमा चलिरहेको भए बुुझ्नुहोस्, त्यहाँ केही न केही गडबडी भइरहेको छ । यस्तो बेलामा पेट्रोलपम्पकर्मीलाई मिटरको स्पीड नर्मल गर्न भन्नुहोस् । तेज मिटर चल्दा तपाईले तिरेको मूल्य अनुसार पेट्रोल नपाइरहेको हुनसक्छ । 

सुनसान पेट्रोलपम्पबाट तेल नभर्ने
सुनसान पेट्रोल पम्पबाट तेल नभर्नुहोस् । मानिसहरुको चहलपहल भइरहने वा तपाई भन्दा अगाडि केही मानिसहरु पेट्रोल भर्न बसिरहेका छन् भने त्यस्ता पम्पबाट मात्र तेल भर्ने गर्नुुहोस् । सुनसान पेट्रोल पम्पबाट तेल भर्ने कामबाट सधैं सजग हुनुुपर्छ । यदि यस्तो पम्पबाट तेल भर्नुुहुन्छ भने तपाईलाई कम पेट्रोल प्राप्त हुन्छ । यस्तो पेट्रोल पम्पबाट तेल भर्नुहुन्छ भने नोजलमा पेट्रोल आउनुुभन्दा अघि भरिएको हावा तपाईको गाडीको ट्यांकीमा भरिन्छ र तपाईलाई केही प्वाइन्टको नोक्सानी हुन्छ । 

रिजर्ब लाग्नुुअघि नै पेट्रोल भर्ने
धेरै कम मानिसलाई मात्र थाहा हुन्छ कि खालि ट्याङ्कीमा पेट्रोल भर्दा पनि नोक्सानी हुन्छ भन्ने कुरा । जति खालि तपाईको पेट्रोल ट्याङ्क हुन्छ, त्यति नै हावा तपाईको ट्याङ्कीमा भरिन्छ । यस्तो अवस्थामा तपाईले पेट्रोल भर्नुहुन्छ भने हावाका कारण पेट्रोलको परिमाण कम पाइन्छ । त्यसकारण ट्याङ्कीमा रहेको पेट्रोल रिजर्बको तहसम्म आउन नदिनुहोस्, त्यसअघि नै पेट्रोल भरिहाल्नुहोस् । आधा ट्यांङ्की सधैं भरिराख्नुहोस् ।