काठमाण्डौ । लगानीकर्ताको संख्याको बढोत्तरीसँगै विगत केही महिनाअघिदेखि धितोपत्र बजारको सुधार तथा आधुनिकीकरणका लागि नेपाल धितोपत्र बोर्डले विभिन्न सुधारका कामहरु अगाडि बढाएको छ । 

लगानीकर्ताको सहजता तथा सरल ढंगले धितोपत्र कारोबार गर्ने पाउन् भन्ने उद्देश्यले आक्रामक ढंगले बजार सुधारका लागि विगत एक वर्षदेखि बोर्डले विभिन्न रणनीतिका साथ काम गरिरहेको छ । यो एकवर्षको अवधिमा बोर्डले धितोपत्रको सुधारका लागि के के गर्यो त ? हेरौं बोर्डबाटै प्राप्त विशेष सामाग्री :

१. धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित युगमा प्रवेशः नेपालमा धितोपत्रको कारोवार प्रणाली यसअघि नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित संचालनको लागि २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी नामसारी र राफसाफ समेतको पूर्ण स्वचालित सेवा संचालनको व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै नेपालको धितोपत्र बजार दक्षिण एशियाका अन्य देशको धितोपत्र बजार सरह नै आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । यसबाट दैनिक औसत कारोवार र कारोवार संख्यामा समेत बृद्धि भएको छ ।

२. दलाल व्यवसायी शुल्कमा ४० प्रतिशतसम्म कटौतीः  दक्षिण एशियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई नेपाल सरकारको स्वीकृतिमा संसोधन गरी ४० प्रतिशतसम्म कटौती गरिएको छ जसबाट लगानीको लागत घटी धितोपत्रमा हुने लगानी प्रोत्साहित भएको छ ।

३. विविध व्यवस्था सहितको धितोपत्र दर्ता तथा निष्काशन नियमावली लागूः पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था सरकारको आर्थिक वर्ष २०७३।७४ को बजेट वक्तव्य मार्फत गरिएकोमा सो कार्यलाई थप प्रोत्साहनमूलक बनाई वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउन तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ जारी गरिएको छ जसले धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी भई विगत २५ वर्षदेखि Fixed Price मा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था गरेको, IFC,ADB जस्ता अन्र्तराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ढोका खुलेको, Conflict of Interest लाई सम्बोधन गरेको छ ।

४. प्राथमिक बजारमा संरचनात्मक सुधार गर्न ASBA प्रणाली लागूः बोर्डले सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी बनाई सार्वजनिक निष्काशनको ७० दिने समयावधिलाई उल्लेख्यरुपमा न्यून गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” (ASBA प्रणाली) लागू गरेको छ ।

५. बोर्डको संस्थागत क्षमता अभिबृद्धि गर्न २७ नयाँ कर्मचारीको नियुक्तिः बोर्डमा न्यून कर्मचारी रहेको पृष्ठभूमिमा लोकसेवा आयोग समेतको सम्लग्नतामा २७ नयाँ कर्मचारीहरुको नियुक्ति गरी कर्मचारी संख्या दोब्बर बनाई बोर्डको संस्थागत क्षमता अभिबृद्धि  गरिएको छ ।

६. नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता पाउने क्रममा नेपाल IOSCO र ANNA को सदस्यः धेरै वर्षको प्रयास पश्चात् बोर्डले २०१६ जुलाईमा धितोपत्र बजारको नियमन निकायहरुको अन्र्तराष्ट्रिय संस्थाको रुपमा रहेको International Organisation of Securities Commission (IOSCO)को एशोसियट सदस्यता प्राप्त गरी नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यस्तै वोर्डको समन्वयमा सिडिएस एण्ड क्लियरिङ्ग लि.ले Association of National Numbering Agencies (ANNA) को सदस्यता प्राप्त गरेको छ ।

७. थप निष्काशन (FPO)को मूल्य निर्धारण विधि लागूः बोर्डले थप निष्काशनको मूल्य निर्धारण कार्यमा एकरुपता ल्याई थप व्यवस्थित र पारदर्शी बनाउनको लागि चार मापदण्ड (पूँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको मुल्य, १८० दिनको औसत बजार मुल्य, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य) निर्धारण गरी लागू गरेको छ ।

८. प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशन सम्बन्धमा नयाँ मापदण्ड लागूः प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशनको लागि वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने, हकप्रद निष्काशनको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, निष्काशनको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड लागू गरेको छ ।

९. बजारको गहिराई हेर्ने व्यवस्थाः दास्रो बजार मुल्य पारदर्शी बनाउन सम्पूर्ण लगानीकर्ताहरुलाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्ने गरी बजारको गहिराई (Market depth) हेर्ने व्यवस्था गरिएको छ । 

१०. अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप Compatible हुने Tested System भित्र्याउन नेप्सेलाई निर्देशनः विश्व पुँजी बजारमा अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको अवस्थामा हालको अन्तर्राष्ट्रिय स्तरको प्रणाली जस्तै नयाँ अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप (Compatible) हुने प्रणाली भित्र्याउनेतर्फ पहल गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ।

११. धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यको उपयुक्त व्यवस्थाः धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यलाई व्यवस्थित गर्न तथा लगानीकर्ताहरुको धितोपत्र कारोवारमा विश्वसनीयता अभिबृद्घि गर्न कारोवार भुक्तानी सुनिश्चित कोष(Settlement Guarantee Fund) संचालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डमा पेश गर्न, क्लियरिङ्ग बैंक थप गर्न, धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा T+2 मा नै पे–इन गर्न लगाउने, T+3 मा खरिदकर्ताको खातामा धितोपत्र तथा बिक्रीकर्ताको खातामा रकम जम्मा हुने व्यवस्था गर्न र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लि.ले परिपत्र गरी कडाइका साथ सो को पालना गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई निर्देशन दिएकोमा सोही अनुसारको व्यवस्था भएको छ ।

१२. विनियमावली स्वीकृति तथा आवश्यकता अनुरुप सुधार गर्न निर्देशनः नेप्सेबाट स्वीकृतिको लागि प्राप्त कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीे स्वीकृत भैसकेको तथा धितोपत्र कारोवार संचालन विनियमावलीे, अक्सन कारोवार कार्यविधि, धितोपत्र व्यापारी (डिलर) को लागि कारोवार कार्यविधि, ट्रेड ग्यारेण्टी फण्ड विनियमावलीमा आवश्यक सुधार गर्न निर्देशन दिइएको र प्राप्त विनियमावलीमध्ये एक सूचिकरण विनियमावली मात्र बोर्डमा आवश्यक अध्ययन भै सुधार सहित स्वीकृत गर्ने प्रकृयामा रहेको छ ।

१३. धितोपत्र निष्काशनलाई सहजीकरण गर्न र संस्थागत सुशासन कायम गर्न धितोपत्र व्यवसायीहरुलाई निर्देशनः बोर्डले सिडिएस एण्ड क्लियरीङ्ग लि लाई हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता नम्बर राख्ने व्यवस्था प्रणालीमा तत्काल मिलाउन, मर्चेन्ट बैंकरलाई अर्थतन्त्र र जनसंख्यालाई आधार मानि पर्याप्त मात्रामा संकलन केन्द्रहरु राख्न तथा जेष्ठ नागरिक, महिला अपाङ्गलाई ध्यानमा राखी संकलन केन्द्रमा उपयुक्त व्यवस्था मिलाउन, हकप्रद सेयर बापत प्राप्त हुने खण्डित सेयरलाई पूर्ण मानी सो व्यवस्था गर्न, मर्चेन्ट बैंकले नाफाको निश्चित प्रतिशत कर्मचारीको तालिम तथा विकासमा खर्च गर्न साथै सूचिकृत कम्पनीलाई गाभ्ने/गाभिने कार्य सम्पन्न भई एकिकृत कारोबार शुरु भएसँगै सेयर कारोबार शुरु हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

१४. प्राथमिक निष्काशनमा डिम्याट खाता अनिवार्य गरिएकोः २०७३ श्रावण १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँट भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

१५. सुपरिवेक्षणमा सुदृढीकरण गरी कारवाही गरिएकोः बोर्डले सुपरिवेक्षण कार्यलाई सकृय तथा सुदृढ बनाउने क्रममा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम समयमै विवरण पेश नगर्ने ८ ब्रोकर तथा ४ मर्चेन्ट बैंकरलाई कारवाही गरेको छ । बोर्डको यो कदमबाट संस्थागत सूशासन, पारदर्शिता र अनुपालनामा सुधार ल्याई पुँजी बजारको विकासमा थप टेवा पुग्ने देखिन्छ ।

१६. सम्बद्ध पक्षहरुसंग अन्र्तकृया तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रमको आयोजनाः बोर्डले पुँजी बजार विकासको लागि अपनाइने नीति तथा कार्यक्रमको सुझाव संकलन गर्न, आस्वा प्रणाली कार्यान्वयनको लागि आवश्यक सुझाव संकलन गर्न, वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न तथा सम्बन्धित क्षेत्रको सुझाव निर्देशिकामा समावेश गर्न वास्तविक क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा कम्पनीहरुसँग पहिलो पटक अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै देशको बिभिन्न क्षेत्रमा धितोपत्र सम्बन्धी तालिम एवं कार्यक्रम संचालन गरी धितोपत्र सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यलाई व्यापक बनाउने कार्य गरेको छ ।

१७. धितोपत्र बजारमा स्थायित्व कायम गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोश्रो बजारमा सहभागिता गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्न भई अध्ययनको सुझाव अनुसार बोर्डको नियमावलीमा आवश्यक सुधारको कार्य अगाडि बढाइएको छ।

१८. बोर्डले गैर आवसीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ ।

१९. बोर्डले नेप्सेमा सूचिकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिद विक्री ओटिसी बजारमा गर्न सकिने जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा दिनुको साथै बोर्डले नेप्सेलाई ओटिसी बजार व्यवस्थित गर्न निर्देशित गरे पश्चात् आ.व. २०७२।७३ मा नेप्सेमा ओटिसी बजार मार्फत सेयर कारोबार शुरु भई ओटिसी बजारको कारोवार शुल्क समेत ९० प्रतिशत सम्म कटौती गरिएको छ ।

२०. बोर्डको परिचय सहित पुँजी बजार सम्बन्धी  Booklet प्रकाशितः बोर्डको कार्य क्षेत्र, संगठनात्मक स्वरुप, धितोपत्रका विभिन्न आयामहरु आदिका बारेमा संक्षेपमा जानकारी गराउने उद्देश्यले बोर्डले “नेपाल धितोपत्र बोर्ड एक परिचय” नामक पुस्तिका प्रकाशन गरेको छ ।

२१. नयाँ क्रेडिट रेटिङ्ग एजेन्जीलाई स्वीकृति प्रदानः हाल एक मात्र क्रेडिट रेटिङ्ग संस्था रहेको पृष्ठभूमिमा क्रेडिट रेटिङ्ग व्यवसायको प्रतिस्पर्धा बढाई रेटिङ्ग कार्यको स्तरोन्नति गर्न, रेटिङ्ग व्यवसायमा व्यवसायिकता बढाउन, रेटिङ्ग शुल्क प्रतिस्पर्धी बनाई समग्र पुँजी बजारलाई लाभान्वित गराउन बोर्डले नयाँ क्रेडिट रेटिङ्ग एजेन्जीलाई स्वीकृति प्रदान छ ।

२२. तेश्रो व्यक्तिको प्रयोगलाई निरुत्साहित गरी वास्तविक लगानीकर्ताहरुले बजारबाट फाइदा लिन सकुन भन्ने उद्देश्यले दरखास्तवालाले एकाघर परिवार बाहेक एक भन्दा बढी दरखास्त फाराम समावेश गरी आवेदन दिएको अवस्थामा प्रत्येक दरखास्तावालाले आफ्नै एकाउन्ट पेई चेक मार्फत रकम जम्मा गरेको हुनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

२३. सूचिकृत संगठित संस्थाहरुले आफ्नो मूल्य संवेदनशील सूचनाहरु नेप्सेलाई तत्काल उपलब्ध गराउनुपर्ने र उक्त लि.ले त्यसरी प्रवाह हुने सूचना प्रमाणित गरी एउटै Standard Formatमा लगानीकर्ताहरुले सहज रुपमा हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । 

२४. धितोपत्र व्यवसायीको सेवा सुदृढ गर्न तथा कार्य क्षेत्र विस्तारका लागि बोर्डको समन्वयमा मर्चेन्ट बैंकरलाई मलेशियाको र धितोपत्र व्यवसायीहरुलाई भारत र बंगलादेशको पुँजी बजारको अध्ययन भ्रमण गराइएको छ ।

२५. बजार सुधारको लागि विभिन्न निर्देशनः 
-मुल्य सीमा परिवर्तन नहुने गरी १० कित्तासम्म (Odd Lot) कारोबार धितोपत्रको नियमित कारोबारमा हुने व्यवस्था मिलाउन ।
-नेप्से तथा सिडिएससीलाई सिडिएससीको अटोमेटेड सिस्टमको सिस्टम अडिट शुरु गर्न ।
-सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिई बडापत्रको व्यवस्था गर्न ।
-महिला, अपांग, केटाकेटीसहितका साना लगानीकर्ताहरुलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ्ग फ्लोरमा थप ट्रेडिङ्ग विण्डो उपलव्ध गराउने व्यवस्था गर्न ।

लगानीकर्ताको हित, पुँजी बजारको विकास, धितोपत्र व्यवसायी सेवाको गुणस्तर सुधार गर्न उल्लेखित कार्यहरु सहित अन्य सुधार सम्बन्धी विभिन्न कार्य भइरहेको छ ।