काठमाण्डौ । आइफोन बनाउने कम्पनी एप्पलले आफ्नो आम्दानीमा निकै लोभलाग्दो प्रगति गरेको छ । यसैको परिणामः एप्पलका सीइओ टिम कुक गत वर्ष संसारकै सबैभन्दा बढी बोनस पाउने सीइओ बने । कुकलाई कम्पनीले १ अर्ब ३४ करोड भन्दा बढी रुपैयाँ बराबरको बोनस दिएको हो ।

कम्पनीको आम्दानीमा आकर्षक बढोत्तरीकै कारण टिम कुकको तलब २२ प्रतिशत वृद्धि भएको छ । यो वृद्धिसँगै टिम कुकले एप्पलबाट तलबको रुपमा वार्षिक १५७ लाख डलर बुझ्नेछन् ।

कम्पनीको तर्फबाट सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनमा दिइएको सूचनामार्फत यो जानकारी बाहिर आएको हो । सन् २०१७ मा कुकलाई कम्पनीले १ अर्ब ४ करोड नेपाली रुपैयाँ बराबरको बोनस दिएको थियो । 

टिम कुकको तलबमा ३० लाख डलरको मूल तलब, १२० लाख डलरको बोनस र ६.८० लाख डलर बराबरको अन्य सुविधाहरु दिइएको छ । यसमा उनको हवाई यात्रा र सुरक्षा खर्च समेत सामेल छ ।

कम्पनीको संचालक समितिले टिम कुकलाई दिइएको आकर्षक बोनस र बढाइएको तलबको बिषयमा प्रष्टीकरण दिंदै भनेका छन् कि उनको नेतृत्वमा २०१८ मा एप्पलले आफ्नो व्यवसाय आकर्षक गतिमा अगाडि बढाउन सक्यो ।

कम्पनीको दस्तावेजमा भनिएको छ –‘२०१८ मा हामीले २६५.६ अर्ब डलर शुद्ध बिक्रीबाट आम्दानी गर्यौं र ७०.९ अर्ब डलर बराबरको संचालन आम्दानी गर्न सफल भयौं । यी दुवै शीर्षकतर्फको आम्दानी एकवर्षको अगाडिको तुलनामा १६ प्रतिशतले बढेको छ ।’