काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको छ।

संस्थाले सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो हिसाबले संस्थाको खुद नाफा समीक्षा अवधिमा गत वर्षको तुलनामा ५.६८ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४.९० प्रतिशतले घटेको छ। गत वर्ष १४ करोड ४४ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा यो वर्ष घटेर १३ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ।

यो वर्षको त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४.२६ प्रतिशतले घटेको छ। यो वर्ष संस्थाले खुद ब्याज आम्दानीबापत १३ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी १४ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्था ५ अर्ब ६८ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको जगेडा कोषको आकार भने २.४२ प्रतिशतले बढेको छ। गत वर्ष १८ करोड ९२ लाख रुपैयाँको जगेडा कोष बढेर १९ करोड ३८ रुपैयाँको बनेको छ। 

संस्थाको चुक्तापुँजी १७ प्रतिशतले बढेर  ८० करोडको भएको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.४३ रुपैयाँमा सीमित बन्न पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस १७.९० रुपैयाँ रहेको थियो। 

संस्थाको पीई रेसियो भने २८.७६ गुणा रहेको छ।