काठमाण्डौ । देशका विभिन्न नदीमा आज आइतबार पानीको उच्च बहाव रहने र तराईका जिल्लाहरुमा डुबानको खतरा बढ्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, बागमती, नारायणीसहित प्रदेश १, २, बागमती, गण्डकी प्रदेश भएर बग्ने नदीमा उच्च बहाव हुनुका साथै प्रदेश १ र २ का तराईका जिल्लाहरु डुबान र कटानको उच्च जोखिममा रहेको जनाएको छ। 

आजको मापनअनुसार कोशी, नारायणी, बागमती, कमला र यी नदीका सहायक नदीहरुमा बहाव स्थिर तथा सतर्कताआसपास रहने अनुमान गरिएको छ। यस्तै पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा बहाव बढ्दो रहे पनि सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। 

यसैगरी कन्काई, कमला, बागमतीलगायत केही नदीमा पानीको बहाव बढ्ने, केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने तथा केही नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ।

आज मेची, विरिङ, निन्दा, मावा–रतुवा, लोहन्द्रा, खेसलिया, चिसाङखोला, सुनसरी खोला, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया, पूर्वी राप्तीलगायत प्रदेश १, २ र बागमती प्रदेश चुरे र तराईबाट बग्ने साना नदीमा पानीको बहाव धेरैमा सतर्कता आसपास रहने र केहीमा खतरासम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। 

यसैबीच आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरीलगायत प्रदेश २ का सबै जिल्ला तथा सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, चिवतन, नुवाकोट, काठमाण्डौ उपत्यका, नवलपरासी, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, गुल्मी भएर बग्ने ससाना नदीमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ।