काठमाण्डौ । विश्वभरमा क्रूड आयल(कच्चा तेल) यस्तो कमोडिटी हो, जसले धेरै देशको अर्थतन्त्र चलेको छ । यो सस्तो वा महंगो हुँदाको असर सोझै मानिसको दैनिक जीवनमा पर्छ । यसको कारणले कुनै पनि देशको अर्थतन्त्र समेत प्रभावित हुन्छ । यसले कुनै पनि देशको जीडीपी ग्रोथमा मात्र प्रभाव पार्दैन, कतिपय देशको अर्थतन्त्रलाई उकास्ने मुख्य कारण समेत कच्चा तेल नै रहेको छ । विश्वभरि दैनिक करिब ९२४ लाख ब्यारेल कच्चा तेल खपत हुन्छ । कच्चा तेल सबैभन्दा बढी खपत गर्ने देशहरुमा चीन, अमेरिका, जापान र भारत अगाडि आउँछन् । नेपालले आवश्यक पेट्रोलियम पदार्थ भारतले खरीद गरेर ल्याएको कच्चा तेलबाट रिफाइन गरी निकालिएपछि तयार पेट्रोल, डिजेल र मट्टितेलको रुपमा आयात गर्छ । 

के हो कच्चा तेल ?
ग्लोबल इकोनोमीको पाङ्ग्रा चलाउन कच्चा तेलको महत्वपूर्ण भूमिका हुन्छ । प्राकृतिक रुपमा पाइने अपरिस्कृत तेललाई नै कच्चा तेल(क्रूड आयल) भनिन्छ । क्रूड आयल कालो रंगको लेदो जस्तै पदार्थ हो । यस्तो तेलमा एक प्रकारको डार्क हाइड्रोकार्बन पदार्थ हुन्छ, जुन कतिपय देशको समुद्र तथा जमीनभित्र पाइन्छ । कच्चा तेलको इतिहास ३० करोड वर्ष पुरानो रहेको छ । एक ब्यारेल तेल बनाउनका लागि कम्तीमा पनि २० ग्यालेन ग्यासोलिनको आवश्यकता पर्छ । क्रूड आयललाई ब्यारेलमा नापिन्छ र एक ब्यारेलमा १५९ लिटर हुन्छ । 

क्रूड आयललाई फ्र्याक्सन डिस्टिलेसन गरेपछि मट्टितेल, पेट्रोल, डिजेल, प्राकृति ग्यास, लुब्रिकेन्ट्स आदि तयार हुन्छ । कच्चा तेललाई आयल रिफाइनरीमा रिफाइन गरेपछि मात्र विभिन्न पेट्रोलियम पदार्थ तयार हुन्छन् । 

कति प्रकारको हुुन्छ ?
कच्चा तेल दुुई प्रकारको हुन्छ । जसमा एउटा हो ब्रेन्ट क्रूड, यस्तो तेलको व्यापार लण्डनमा हुन्छ । दोश्रो हो डब्ल्यूटिआई, जसको अमेरिकामा व्यापार हुन्छ । नेपालमा जुन तेल आयात गरिन्छ, त्यो ब्रेन्ट क्रूडबाट रिफाइन गरिएको हुन्छ । 

किन राखियो ब्रेन्ट नाम ?
ब्रेन्ट क्रूडको नाम विश्वभरि नै प्रख्यात छ । यसको नाम एक अमेरिकन पंक्षी ब्रेन्ट ग्रुुसको नामबाट राखिएको हो । ब्रेन्ट क्रूड उत्तरको समुद्री क्षेत्रबाट निकालिन्छ । यो एक हल्का मीठो कच्चा तेल हो । अमेरिकन पेट्रोल इन्स्टिच्यूट(एपीआई)का अनुसार यसको घनत्व ३८ देखि ३९ हुन्छ । यसमा सल्फरको मात्र निकै धेरै हुन्छ, जुन डब्ल्यूटीआई आयलभन्दा पनि अधिक हो । ब्रेन्ट क्रूडको सबैभन्दा सुरुको उत्पादन ब्रेन्ट आयल फिल्डबाट गरिएको थियो । विश्वभरको लगभग दुुईतिहाई क्रूड आयलको व्यापारमा मूल्य निर्धारणका लागि ब्रेन्ट बेञ्चमार्कको नै प्रयोग गरिन्छ । 

डब्ल्युुटिआई क्रूड आयल
वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्यूटिआई) क्रूड आयलको सबैभन्दा बढी प्रयोग अमेरिकामा हुन्छ । यसको एपीआई ग्राभिटी कम हुने हुँदा यो निकै हलुका हुन्छ र सल्फर कम हुने कारण मीठो पनि हुन्छ । यसको प्रयोग कम सल्फरवाला ग्यासोलिन र कम सल्फरवाला डिजेल बनाउन प्रयोग गरिन्छ । डब्ल्यूटिआई समेत ब्रेन्ट क्रूड जस्तै एक प्रकारको बेञ्चमार्क हो । 

कच्चा तेल उत्पादन गर्ने प्रमुख देश
क्रूड आयलको ग्लोबल प्रोडक्सनमा ओपेक देशको हिस्सेदारी सबैभन्दा अधिक ४० प्रतिशत रहेको छ । यस्तै, उत्तर अमेरिकाको १७ प्रतिशत, रुसको १३ प्रतिशत, चीनको ५ प्रतिशत, दक्षिण अमेरिकाको ५ प्रतिशत र अन्य देशको हिस्सेदारी २० प्रतिशत रहेको छ । यस्तै, ओपेक देशहरुको कुल तेल उत्पादनमध्ये  साउदी अरेबियाको हिस्सेदारी ३२ प्रतिशत, इरान र इराकको १९ प्रतिशत, कुवेतको ८ प्रतिशत, यूूएई र भेनेजुएलाको १६ प्रतिशत र अन्य देशको २५ प्रतिशत रहेको छ । 

कच्चा तेलको मूल्य घट्दा के फाइदा हुन्छ ?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि तेल कम्पनीहरुले पेट्रोल र डिजेलको मूल्य घटाउँछन् । घटेकै मूल्य अनुसारको दररेट राखी इण्डियन आयल कर्पोरेसनले नेपाललाई पठाउँछ र सोही आधारमा यहाँ नेपाल आयल निगमले मूल्य निर्धारण गर्छ । पेट्रोलियम पदार्थको मूल्य कम भयो भने महंगी कम भई आम मानिसलाई समेत सहुलियत हुन्छ । डिजेलको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा तथा ढुवानी खर्च कम हुन्छ । यस्तै हवाई इन्धनको मूल्य घट्दा हवाई यात्रा पनि कम खर्चिलो हुन्छ । यस अलावा फलफूल, सागसब्जी र रासनको मूल्यमा पनि कमी आउँछ । यस्तै, देशमा महंगी कम हुन्छ र व्यापार घाटा पनि कम हुन्छ । यस्तै, सरकारको आयात खर्च समेत कम हुन्छ र समग्र अर्थतन्त्रलाई फाइदा पुुग्छ । यस अलावा कच्चा तेलको मूल्य सस्तो भएपछि पेन्ट्स, प्लास्टिक, फर्टिलाइजर तथा सिपिङ कम्पनीहरुलाई समेत फाइदा हुन्छ ।