काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर र पोखरा लेखनाथ महानगरको ताजा मतपरिणाम प्राप्त भएको छ । 

जिल्लास्थित निर्वाचन कार्यालयहरुले दिएका जानकारी अनुसार दुवै महानगरमा एमालेको अग्रता कायमै छ । 

भरतपुरमा प्रधानमन्त्री पुत्री रेणुु दाहालले कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेद्वारी दिएका कारण यो स्थान चर्चाको शिखरमा छ । यो क्षेत्रको पछिल्लो मतपरिणाममा पनि एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायम नै छ ।

उनले २२ हजार ९ सय ८२ मत प्राप्त गरेका छन् । उनलाई रेणुुले २० हजार १ सय ९९ मतले पछ्याइरहेकी छिन् । उपमेयरमा कांग्रेस उम्मेद्वार पार्वती शाहको फराकिलो अग्रता कायम छ । उनले २३ हजार १ सय १८ मत प्राप्त गरेकी छिन् भने उनलाई एमालेकी दिव्या आचार्यले २० हजार ४ सय ९० मतले पछ्याइरहेकी छिन् । 

उता, मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको बिषयमा विवाद बढेपछि लामो समयदेखि स्थगित भएको पोखरा लेखनाथ महानगरको मतगणना समेत सुचारु भएको छ । पुनः सुचारु भएपछिको पहिलो मतपरिणाम समेत प्राप्त भएको छ, जहाँ एमालेको तर्फबाट मेयरका उम्मेद्वार मानबहादुर जिसीले अग्रतालाई कायमै राखेका छन् । उनले २१ हजार ८ सय ७८ मत पाएका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले २० हजार ४९ मतले पछ्याइरहेका छन् ।