काठमाण्डौ । एमाले किल्लाको रुपमा परिचित इटहरी उपमहानगरपालिका र मोरंगको सुन्दर हरैंचा नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता कायमै छ । 

इटहरीको पछिल्लो मत अपडेट अनुसार कांग्रेसका मेयर उम्मेद्वार रोहित प्रसाईले ४०७७ मत पाएका छन् भने उपमेयरतर्फ कांग्रेस उम्मेद्वार विमला ढकालले ४०६६ मत पाएकी छिन् । 

मेयर र उपमेयरमा एमालेले क्रमशः ३९१० र ३८१७ मत पाएका छन् । 

हाल इटहरीको वडानम्बर २०, २, ३, १८ र १९ वडाको मतगणना भइरहेको छ । २, १८ र १९ मा एमाले अगाडि छ भने ३ र २० मा कांग्रेसको अग्रता छ । 

यसैगरी, एमाले पकड क्षेत्र मानिएको मोरंगको सुन्दर हरैंचा नगरपालिकामा समेत कांग्रेसकै अग्रता कायम छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार शिवप्रसाद ढकालले ७५६६ मत ल्याएका छन् । उनलाई एमालेका केदारप्रसाद गुरागाईंले ७०६० मतले पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी धनमाया तामांग ७०२५ मतसहित अगाडि छिन् । कांग्रेसकी बिन्दा दाहाल थापाले ५७५९ मत पाएकी छिन् ।