काठमाण्डौ । प्रदेश नम्बर १ को दुुई उपमहानगरपालिकामै एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । धरानमा एमाले फराकिलो अग्रतासहित अगाडि बढिरहेको छ भने इटहरीमा समेत उसले अग्रतालाई बढाउँदै लगेको छ । 

पछिल्लो मत परिणाम अनुसार इटहरीमा एमालेका उम्मेद्वार द्वारिकलाल चौधरीले १५ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रोहित प्रसाईले १४ हजार २ सय ६७ मतले पछ्याइरहेका छन् । हिजोसम्म ६ सयमा कायम मतअन्तरले बुधबार बिहानसम्म आइपुुग्दा ११ सय बढीमा उक्लिएको हो । एमाले प्रभाव क्षेत्रका वडाहरुको मतगणना भइरहेकोले समेत मेयर र उपमेयरमा एमालेले अग्रता लिइरहेको हो । 

उपमेयरमा एमालेकी लक्ष्मी गौतमले १४ हजार ६ सय ६४ मत ल्याएकी छिन् । उनलाई कांग्रेसकी बिमला ढकालले १३ हजार ९७ मतले पछ्याइरहेकी छिन् । 

इटहरीमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका वडामध्ये धेरैमा वडाअध्यक्ष कांग्रेसले जितेको छ । मुख्य बजार क्षेत्रको वडानम्बर ६ मा समेत एमाले उम्मेद्वार प्रेम बस्नेतलाई हराउँदै कांग्रेसका युवा नेता दीपक गौतमले चुनाव जितेका छन् । 

इटहरीमा व्यक्ति हेरेर समेत धेरै मत खसेको देखिएको छ । यहीकारण एमालेको पकड क्षेत्र भनिएका वडामा कांग्रेसका वडाअध्यक्षले जितेका छन् । एमालेका मेयरका उम्मेद्वारको आफ्नै वडामा समेत कांग्रेसले वडाअध्यक्षमा जित हासिल गरेको छ । 

उता, धरान उपमहानगरपालिकाको हिजोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । दलहरुबीच सहमति हुन नसक्दा मतगणना सुरु हुन नसकेको हो । माओवादीलाई झरेको मत मालेलाई गनिएको भन्दै लफडा भएपछि मतगणना स्थगित भएको थियो । 

मतगणना स्थगित हुनुुअघि धरानमा एमालेले फराकिलो अग्रता लिएको थियो । एमालेले मेयर र उपमेयमार ७०८२ र ७२७६ मत पाएको थियो । उसलाई कांग्रेसले मेयर र उपमेयरमा क्रमशः ५८८२ र ५६८० मतले पछ्याइरहेको छ ।