काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सोमबार आर्थिक वर्ष २०७३/७४ का प्रमुख आर्थिक सूचकहरुको समीक्षा गर्दै रिपोर्ट सार्वजनिक गरेको छ । 

समीक्षा अवधिमा सेयर बजार परिसूचकमा केही कमी आई बजार पूँजीकरणमा समेत गिरावट भएको देखिएको छ । 

नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा ७.९ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा १,५८२.७ विन्दु कायम भएको छ । २०७३ असार मसान्तमा उक्त सूचकाङ्क १,७१८.२ विन्दु पुगेका थियो ।

धितोपत्र बजार पूँंजीकरणमा वार्षिक विन्दुगत आधारमा १.८ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा रु. १,८५६ अर्ब ८३ करोड पुगेको छ । बजार पूँजीकरण अनुपात २०७३ असार मसान्तमा ९१ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७१.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८४.१ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५.४ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.२ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.३ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७४ मा कुल शेयर कारोबार रकममा २४.९ प्रतिशतले वृद्धि भई रु. २०४ अर्ब ७९ करोड पुगेकोछ । अघिल्लो आर्थिक वर्ष कारोबार रकम रु. १६३ अर्ब ९६ करोड पुगेको थियो । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ असार मसान्तसम्ममा २०८ रहेको छ । २०७३ असार मसान्तमा यस्तो संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १६५ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्। 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी आर्थिक वर्ष २०७४ मा ४१.९ प्रतिशतले वृद्धि भई रु. २८९ अर्ब ५९ करोड पुगेको छ । आर्थिक वर्ष २०७४ मा रु. ४ अर्ब ६७ करोड बराबरको साधारण शेयर, रु. २९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु. ३६ अर्ब ४२ करोड बराबरको बोनस शेयर, रु. ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र रु. १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी कुल रु. १३३ अर्ब ९८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।