-डा.दिलनाथ दंगाल
२५०० वर्ष अगाडि पूर्वीय दार्शनिक एवं अर्थशास्त्री कौटिल्यले आफ्नो सुप्रसिद्ध पुस्तक कौटिल्यको अर्थशास्त्रमा करको वर्णन गरेको पाईन्छ ।

हाल आधुनिक समयमा चलिरहेका मूल्य अभिवृद्धिकर(भ्याट), भन्सार कर , अन्तः शुल्क, आयकर , भूमिकर कौटिल्यको समयमा नै कुनै न कुनै अवस्थामा थिए र तिनीहरुको विकसित रुपको कर प्रणाली संचालनमा छ ।

आधुनिक कर प्रणालीको प्रत्यक्ष र अप्रत्यक्ष करको सुरुवात पनि कौटिल्यको समयमा नै करद र अकरद आयको रूपमा थियो । त्यसैगरी एडम स्मिथ र आधुनिक कर प्रणालीमा उल्लेख भएका करारोपणका सिद्धान्तहरू जस्तो विविधताको सिद्धान्त, लचकताको सिद्धान्त, निश्चितताको सिद्धान्त, सुविधाको सिद्धान्त, मितव्ययीताको सिद्धान्त आदि पनि कौटिल्यको समयमा नै विकसित भइसकेका थिए ।

आधुनिक विश्व इतिहासलाई हेर्ने हो भने बाह्रौ शताब्दीमा युद्धका लागि स्रोत संकलन गर्ने उद्देश्यले आयकर लगाउन थालिएको इतिहास पाईन्छ ।

बाह्रौ शताब्दीमा व्रिटेनबाट सुरु भएको आयकर सत्रौं शताब्दीमा आएर फ्रान्समा पनि व्रिटेनमा जस्तै युद्धका लागि स्रोत जुटाउने उद्देश्यले सुरु गरिएको थियो । 

भारत र अमेरिकामा सन् १८६० को दशकबाट कर सञ्चालनमा आएको देखिन्छ । हिन्दू धर्मतिर हेर्ने हो भने आफ्नो कमाइको केही अंश राज्य सरकारलाई दिनुपर्छ भन्ने सिद्धान्त अनुसार कर उठाउन थालेको देखिन्छ । नेपालमा पनि प्राचीनकालदेखि नै खेती, पशुपालन र व्यवसायमा विभिन्न नामले कर संकलन गर्ने गरिन्थ्यो । ऐतिहासिक कालमा खेतीको छैठौं ,आठौं र बाह्रौं भाग करको रूपमा संकलन गर्ने गरिन्थ्यो ।

प्राचिन नेपालमा सरकारको आम्दानीका महत्वपूर्ण स्रोत भनेको कर नै हो ।

कृषिमा पनि कर लगाइन्थ्यो । पशुमा पचास भागको एकभाग करको रूपमा राज्यलाई तिर्नुपथ्र्योे । नेपालको किरात कालको अवस्था हेर्ने हो भने कुथेर, शुल्ली र मापचोकबाट करको रूपमा राजश्व संकलन गर्ने गरिन्थ्यो ।

लिच्छविकालमा पनि कर नै सरकारको महत्वपूर्ण आयको स्रोत थियो । त्यो समयमा त्रि करको व्यवस्था थियो । कृषिमा भाग, पशुमा भोग र व्यापारमा करको व्यवस्था थियो । नेपालको एकीकरणपछि दरबार, केन्द्रीय सरकार र स्थानीय प्रशासन गरी तीन तहले कर संकलन गर्ने गर्थे ।

राणाको समयमा राणा प्रधानमन्त्रीको मौखिक नियम अनुसार कर संकलन हुने गथ्र्यो । राणाको समयमा कर उठाउने खासै त्यस्तो महत्वपूर्ण नियम थिएन ।

तर, यसो हुँदा पनि धेरै ओटा राजस्व संकलन अफिसहरू जस्तो भूमि करका लागि माल अड्डा, भन्सार करका लागि बजार अड्डा, अन्तशुल्कका लागि बन्दोवस्त अड्डा जस्ता अफिस खडागरी मध्यस्तकर्ता राखेर कर संकलन गर्ने गरिन्थ्यो ।

त्यो बेलामा भूमिमा, भन्सारमा र काठ निकासीमा एकमुष्ठ कर लगाइन्थ्यो ।

सरकारी जागिरेले सलामीको रूपमा आय कर तिर्नुपथ्र्यो । आधुनिक समयमा राजस्व संकलनका कर स्रोत र गैर कर स्रोत गरी दुईवटा स्रोतबाट राजस्व संकलन हुने गरेको पाइन्छ । त्यसमा कर स्रोतले कुल राजश्वको लगभग ९० प्रतिशत र गैर स्रोतले १० प्रतिशत मात्र भाग ओगटेका छन् । कर राजस्वमा लगभग ७० प्रतिशत हिस्सा अप्रत्यक्ष करले र ३० प्रतिशत हिस्सा प्रत्यक्ष करले ओगटेको छ । अप्रत्यक्ष करमा महत्वपूर्ण हिस्सा ओगट्ने मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार कर, र अन्त शुल्कले अप्रत्यक्ष करको क्रमशः ४७ प्रतिशत, ३४ प्रतिशत र १९ प्रतिशत हिस्सा ओगटेका छन् भने कुल ग्राहस्थ उत्पादनमा क्रमशः ४, ३ र २.५ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैगरी प्रत्यक्ष करलाई हेर्ने हो भने आम्दानी करले प्रत्यक्ष करको लगभग ८० प्रतिशत हिस्सा ओगटेको छ । भूमिकर र सवारी साधन करले क्रमशः १० प्रतिशत र ५ प्रतिशत मात्र हिस्सा ओगटेको पाइन्छ ।

हाल नेपालमा मूल्य अभिवृद्धिकर ऐन २०५२ अनुसार वि.सं. २०५४/०५५ देखि मूल्य अभिवृद्धि कर, आयकर ऐन २०५८ अनुसार आयकर, अन्तःशुल्क ऐन २०५८ अनुसार अन्तशुल्क र भन्सार ऐन २०६४ अनुसार भन्सार कर संचालनमा रहेका छन् भने नेपालको संविधान २०७२ ले माथिल्लो सरकारसंग नबाझिने गरी कानून बनाएर मात्र कर संकलन गर्न सकिने व्यवस्था गरेको छ ।

माथिको तथ्याङ्कलाई हेर्ने हो भने भ्याट, भन्सार कर, आम्दानी कर र अन्तः शुल्कले करको संकलनमा महत्वपूर्ण हिस्सा ओगटेका छन् । र, यिनीहरूलाई व्यवस्थित गर्न सकेमा करको रूपमा राज्यले बढी रकम संकलन गर्न सक्छ । त्यसैगरी मुख्य करको हिस्सा ओगट्ने यी चार ओटा करहरूलाई केन्द्रीय सरकारको मातहतमा राख्न र अन्य करहरूलाई क्रमशः प्रदेश सरकार र स्थानीय सरकारको अधिनमा राख्न सके कर संकलनमा हाल देशमा देखापरेको समस्याको समाधान पनि गर्न सकिने र बढी राजस्व पनि संकलन गर्न सकिने देखिन्छ।
(दंगाल करमा विद्यावारिधी एवं त्रि.वि.अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)