काठमाण्डौ । 'डाक्टर' अर्थमन्त्रीले हाँकेको देशको अर्थतन्त्र दिनप्रतिदिन बिरामी हुँदै गएको देखिएको छ । 

पछिल्ला प्रत्येक महिना अर्थतन्त्रमा ठूला समस्याहरु देखिइरहेका छन् । अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्सको वृद्धिदर स्थिर छैन भने आयातमा उच्च र निर्यातमा न्यून वृद्धि भइरहेको छ । 

शोधानान्तर घाटा भयावह अंकमा बढिरहेको छ भने सरकारी खर्च निकै न्यून छ । 

नेपाल राष्ट्रबैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांक हेर्ने हो भने अर्थतन्त्रका महत्वपूर्ण अंग(सूचक)मै बिरामीले बढी च्यापेर समस्याग्रस्त बन्दै गएका देखिएको छ । 

पाँच महिनाको अवधिमा राष्ट्रबैंकले सार्वजनिक गरेको अर्थतन्त्रको डाइग्नोसिस कस्तो छ त ? हेरौं बुँदागत रुपमा:

मुद्रास्फिति
२०७५ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको दाबी गरिएको छ । तर, यो दाबी पत्याउने भरपर्दो आधार भने छैन । व्यवहारिक रुपमा सर्वसाधारणको चुलो महंगिएकै छ ।

२०७५ मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको थियो। २०७४ मंसिरको तुलनामा तरकारी, दाल तथा दलहन र चिनी तथा चिनीजन्य पदार्थ उप–समूहका वस्तुहरूको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको केन्द्रीय बैंकको दाबी छ, तर बजारको अवस्था यो भन्दा ठीक उल्टो छ ।

२०७५ मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ३.८ प्रतिशत, काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र तराईमा ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.५ प्रतिशत, ४.८ प्रतिशत, ३.४ प्रतिशत र ४.३ प्रतिशत रहेको थियो । यो तथ्यांकले देशका विभिन्न क्षेत्रमध्येकै कम महंगी काठमाण्डौमा छ भन्ने देखिन्छ, तर यो तथ्य पत्याउने खालको छैन । 

आयात/निर्यातको असन्तुलनले व्यापार घाटा उच्च
आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई रु.३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ । 
वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता र चप्पल लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

तर, आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा कुल वस्तु आयात ३४.२ प्रतिशतले बढेर रु.६०७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । 

आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले विस्तार भई रु.५६९ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत रहेको थियो ।

विप्रेषण केही सन्तोषजनक
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई रु.३७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो ।

तर, चार महिनाको तुलनामा विप्रेषणतर्फको प्रगति पाँच महिनामा भने संकुचित भएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो चार महिना(कात्तिक)सम्म विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको थियो ।

चालु खाता उच्च घाटामा
चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु.११९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.६४ अर्ब ११ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ६२ करोड ३ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ४ करोड ४५ लाख पुगेको छ । 

शोधानान्तर घाटा झनै भयावह
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा शोधनान्तर स्थिति रु.५ अर्ब ४८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखलेघाटामा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.६ अर्ब ७८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब १२ करोड रहेको थियो ।

विदेशी विनियम सञ्चितीमा ह्रास
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट ३.३ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा रु.१०६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ मंसिर मसान्तमा रु.६६ अर्ब २६ करोडले कमी आई रु.९२३ अर्ब १४ करोड रहेको छ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ मंसिर मसान्तमा २६ प्रतिशतले वृद्धि भई रु.१४२ अर्ब ६७ करोड पुगेको छ । २०७५ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको छ ।

सरकारी वित्त र खर्चको अवस्था यस्तो
आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.३७ अर्ब ५६ करोडलेबचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.४ अर्ब ९३ करोड रहेको थियो । 

यस्तै, समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२७३ अर्ब ७४ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२५६ अर्ब ३० करोड रहेको थियो । 

समीक्षा अवधिमा चालू खर्च रु.२२१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२२२ अर्ब ६२ करोड रहेको थियो । 

समीक्षा अवधिमा रु.३४ अर्ब ४ करोड पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२४ अर्ब ७९ करोड भएको थियो ।

राजश्व र नगद मौज्दात
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन २६.३ प्रतिशतले वृद्धि भई रु.३०६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १७.० प्रतिशतले वृद्धि भई रु.२४२ अर्ब ९७ करोड पुगेको थियो । यस्तै, २०७५ मंसिर मसान्तमा नेपाल राष्ट्रबैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा रु.११९ अर्ब ३८ करोड (स्थानीय तहको खातामा रहेको रु.४६ अर्ब ७८ करोड समेत) नगद मौज्दात रहेको छ ।