काठमाण्डौ । दिनभरको थकान हामी खाट (ओछ्यान) मा गएर नै मेट्न सक्छौँ । आरामले बस्न होस्, पढ्न होस् वा सुत्न होस्, हामीलाई खाट नै सुरुमा याद आउँछ । 

यसरी आफ्नो थकान मेटाउने थलोका रुपमा रहेको खाटको इतिहास तपाइँलाई थाहा छ त ? यदि छैन भने तल पढौँ ।

इतिहासकार ग्रेग जेनका अनुसार खाटको अस्तित्वको सबैभन्दा पहिलो प्रमाण ७७ हजार वर्षपहिले पाषाणकालमा पाइन्छ । दक्षिण अफ्रिकाका गुफाहरुमा मानिसहरु आफैँले चट्टानबाट निर्माण गरेको खाटमा सुत्ने गर्थे । ग्रेग भन्छन्, ‘गुफाहरु आरामदायी हुँदैन थे, त्यहाँ काँडैकाँडा हुन्थे, त्यस्तो अवस्थामा जमिनबाट अलि माथि सुत्न यस्ता चट्टानका खाट बनाइन्थ्यो।’

ग्रेगका अनुसार त्यतिखेर खाना पनि चट्टानबाटै निर्मित खाटमा खाइन्थ्यो । जसका कारण त्यहाँ चिल्लो–चाप्लो बढी हुन्थ्यो र पछि सुत्नुअघि त्यहाँ आगो लगाएर सफा गरिन्थ्यो । 

करिब १० हजार वर्षपहिला नवपाषाणकालमा टर्कीको क्याटेलहाक यस्तो पहिलो सहर थियो, जहाँ सुत्नका लागि मानिसले जमिनभन्दा अलि माथि सुत्न ढुंगाहरु संकलन गरेर खाट बनाइन्थ्यो । ढुंगाहरुबाट बनाइएको खाटमा उनीहरु ओछ्याउन चिजहरु पनि राख्थे । 

यस्तै खालको खाट स्कटल्यान्डको ओर्कनेयसको स्कारा नामक गाउँमा पनि भेटिएको ग्रेग बताउँछन् । ‘त्यहाँका मानिसहरु पनि ढुंगाहरु संकलन गरेर खाट बनाउँथे र त्यसमाथि नै आराम तथा सुत्ने गर्थे’, उनी भन्छन्, ‘चट्टान र ढुंगाबाट बनाइएको खट नै संसारको सबैभन्दा पहिलो खाट हो’, उनी भन्छन्। 

मिस्रकालमा आएर खाट अलि आरामदायी हुन थाल्यो । मिस्रका जनता धनी थिए । उनीहरु खाट आरामदायी हुनुपर्छ भन्ने सोच्थे । ‘त्यसैले यो कालका मानिस काठको खाट बनाउन थाले, जसमा जनावरहरुको बुट्टा भरिन्थ्यो, खाटको खुट्टाहरु पनि विभिन्न जनावरका आकृतिजस्तै हुन्थे’, ग्रेग भन्छन्, ‘तर यी खाटहरु थोरै तलतिर झुकेका हुन्थ्यो, जसले गर्दा सुत्दा नचिप्लियोस् भनेर आड बनाइन्थ्यो।’

रोम र युनानमा बनाइएका खाट थुप्रै काममा प्रयोग हुन्थ्यो । त्यहाँका मानिस जुन खाटमा सुत्थे, त्यहीँ खाना पनि खान्थे । यसैगरी खाटको एउटा किनारामा तकिया राखेर आरामले बसेर बैठक पनि गर्थे । 

मध्यकालीन युरोपमा सबै गरिब मानिस भुस र घाँसमा सुत्थे तर धनी मानिसको खाटमा सुनको बुट्टा कुँदिएको हुन्थ्यो । जसलाई ‘ग्रेट बेड’ पनि भनिन्थ्यो । यस्ता खाट यसरी बनाइएको हुन्थ्यो, त्यसलाई पछि अन्यत्र पनि लैजान सकियोस् । ‘हेर्दा उनीहरुको खाट ठूलो देखिन्थ्यो तर देशबाहिर जानुपर्ने भयो भने पनि उनीहरुले खाट सँगै लिएर जान्थे’, ग्रेग भन्छन, ‘ती खाट यति ठूला हुन्थे कि एउटा पूरै फुटबल टिम त्यसमा सुत्न सक्थे।’

सुरुआती आधुनिक समयमा खाट काठको बनाइन्थ्यो र त्यसमा प्राकृतिक रेशादार डोरीले बाँदिन्थ्यो । ग्रेग भन्छन्, ‘यस्ता प्राकृतिक रेशाहरुलाई तन्काएर काठको खाटमा बुट्टा भरिन्थ्यो, यदि प्रयोग गर्दागर्दा केही खुकुलो भएमा पुनः त्यसलाई कस्न मिल्थ्यो।’

सुरुआती आधुनिककालका जानकार प्रोफेसर साशा ह्यान्डका अनुसार आधुनिककालको सुरुआतमा सरकारी खाट निकै प्रसिद्ध थियो । उनी भन्छन्, ‘सत्रौँ शताब्दीको अन्तमा ब्रसेल्समा फ्रान्का लुइस १४ औँ इंग्ल्यान्डका राजा चाल्र्स यो संस्कृतिको विकसित गर्ने दुई प्रमुख सम्राट थिए ।’ 

बरोको राजनीतिक संस्कृतिमा राजशाहीकालमा यो धारणा थियो कि राजा र रानीलाई सिधै भगवानजस्तै शासन गर्ने अधिकार र शक्ति हुन्छ । उनीहरुका लागि खाट राजनीतिक जीवनको केन्द्र थियो । खाटमा राजा–रानी बस्थे र आसपास थुप्रै शुभचिन्तक र भाइभारदार उभिएका हुन्थ्ये । – एजेन्सी