काठमाण्डौ । गत साता दुबईको चर्चित ‘मोटर शो’ मा विश्वमै सबैभन्दा तीव्रगतिमा गुड्ने ‘अस्पार्क आउल’ कार सार्वजनिक गरिएको छ ।

यो इलेक्ट्रिक हाइपर कार हो । जापानको अस्पार्क कम्पनीले यो कार बनाएको हो । कम्पनीको दाबी छ कि यो कार मात्र १.६९ सेकेन्डमा ० देखि ६० माइल अर्थात् करिब ९६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुड्न सक्छ ।

यो कारको प्रोटोटाइप पहिलोपटक सन् २०१७ मा पेस गरिएको थियो । दुबई मोटर शोमा यसको फाइनल भर्जन सार्वजनिक भएको हो ।

कम्पनीले यस्तो केबल ५० वटा कारमात्र उत्पादन गरेको छ । यो इलेक्ट्रिक हाइपर कारको मूल्य २.५ मिलियन पाउन्ड अर्थात् नेपाली ३७ करोड ४ लाख रुपैयाँ तोकिएको छ ।

आस्पार्क आउल कारमा ६४ किलोवाट घन्टा, लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यो कार एकपटक फुल चार्ज गर्दा २८० माइल अर्थात् करिब ४५० किलोमिटरसम्म गुड्छ । यसको टप स्पिड ४०० किलोमिटर प्रतिघन्टा रहेको छ।

पहिलोपटक जब यो कार घोषणा गरिएको थियो तब १.९२१ सेकेन्डमा ० देखि ६० माइल प्रतिघन्टाको रफ्तार हुने दाबी गरिएको थियो । अहिले फाइनल प्रडक्सनको ० देखि ६० माइल प्रतिघन्टाको रफ्तार १.६९ सकेन्डमा रहेको छ । 

कम्पनीले यो हाइपर कारले आउँदो वर्षको सुरुआतमा जर्मनीको चर्चित रेस ट्रयाकमा सबैभन्दा तीव्र ल्यापको वल्र्ड रेकर्ड तोड्ने कोसिस गर्ने दाबी गरेको छ।

अस्पार्क आउ कारको फ्रन्ट ह्विल्जमा भारी आर्चका साथ कारको डिजाइन निकै फ्युचरिस्टिक रहेको छ । यसको इन्टिरियर भने विना कुनै असिस्टेड ड्राभिङ सिस्टमका साथ निकै सरल तरिकाले पेस गरिएको छ ।

यो शानदार कार कार्बन फाइबर प्यानलबाट बनेको छ । – एजेन्सी