काठमाण्डौ । पछिल्लो केही महिनाको ट्रेण्डमा निरन्तरता भई आयात घट्ने र निर्यात बढ्ने क्रम चालु आर्थिक वर्षको चार महिनामा समेत यथावत रह्यो । 

विप्रेषण आप्रवाहमा कमी आउनु, शोधानान्तर स्थितिको बचत तीव्र रुपमा बढ्दै जानु, विदेशी विनियम सञ्चिती पनि बढ्दै जानु लगायतका विषय अर्थतन्त्रको ताजा हेल्थ रिपोर्टका महत्वपूर्ण सूचकहरु हुन् । 

नेपाल राष्ट्रबैंकले बुधबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्रको स्वास्थ्य समग्रमा सुधारोन्मुख रहेको जनाएको छ । 

उसका अनुसार समीक्षा अवधिमा आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर रु.४५० अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो ।

यो अवधिमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी रु.३०४ अर्ब ९७ करोड कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा रु.३७ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.८८ अर्ब ४३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड ८८ लाख रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको छ ।

२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई २०७६ कात्तिक मसान्तमा रु.११०३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा ९ अर्ब ६३ करोड पुगेको छ ।

बित्तीय स्वास्थ्य
आर्थिक वर्ष २०७६/७७ को चार महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.६५ अर्ब ९२ करोडले बचतमा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च रु.२१९ अर्ब १७ करोड रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२०७ अर्ब ६८ करोड रहेको थियो।

समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रु.२७५ अर्ब २ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.२५५ अर्ब २ करोड रहेको थियो ।

कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१५० अर्ब ३० करोड (स्थानीय तहको खातामा रहेको रु.४१ अर्ब ८९ करोडसमेत) नगद मौज्दात रहेको छ ।