काठमाण्डौ । संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ । 

बिमा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही समय स्थगित गरिएको कोरोना भाइरस बिमालेख साबिककै व्यवस्थाअनुसार लागू हुने गरी आजैदेखि सुचारु गर्न निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो । 

साथै, अब जारी हुने बिमालेख २०७७ चैत मसान्तसम्मका लागि मात्र जोखिम बहन गर्ने गरी बिक्री गराउन समेत निर्देशन दिइएको छ । 

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रत्येक बीमा कम्पनीहरुसँग रहेको ७० करोड फण्ड महाविपत्ति जगेडा कोषबाट जोखिम वहनका लागि प्रयोग गर्न सकिने जानकारी दिए । उनकाअनुसार ५ हजार पोलिसीको जोखिम बहन बीमा कम्पनीहरुले, १० हजारको नेपाल पुुर्नबीमा कम्पनीले, १० हजारको बिमा समितिले तथा त्यसभन्दा धेरै पोलिसीको जोखिम बहन सरकारले गरिदिने भएपछि पुनः सुचारु भएको हो। 

बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बिमामा सर्वसाधारणको अत्यधिक आकर्षण देखिएको छ । यहीकारण बिहीबार यो बिमालेख योजना स्थगन गर्नुअघिसम्म करिब ३ लाख व्यक्ति यसमा सहभागी भइसकेका थिए । निर्जीवन बिमा कम्पनीहरुले प्रिमियमको रुपमा १७ करोड रुपैयाँ हाराहारीमा आम्दानी गरेका थिए । 

सर्वसाधारणको अत्यधिक आकर्षण देखिए पनि २० अर्ब पुँजी भएका २० वटा निर्जीवन बिमा कम्पनी र दायीत्वको २० प्रतिशत व्यहोर्नुपर्ने पुरनबिमा कम्पनीको १० अर्ब गरी कुल ३० अर्ब चुक्तापूँजी भएका कम्पनीले करिब ३० अर्ब हाराहारीकै दायीत्व सिर्जना भएको भन्दै अब आफूहरुले यसलाई थेग्न नसक्ने भनी बिमा समितिमा प्रडक्ट नै स्थगनको माग गर्दै पत्र पठाएका थिए । 

बिमक संघले पत्र पठाएका आधारमा बिमा समितिले समेत बिहीबार आकस्मिक निर्णय गर्दै केही समयका लागि कोरोना बिमालेख स्थगन गरेको थियो । 

तर, यो निर्णयको सबैले आलोचना गरेका थिए । सहज पर्दा प्रिमियमको रुपमा सर्वसाधारणबाट १७ करोड रुपैयाँ उठाउने निर्जीवन बिमा कम्पनीहरुले कोरोनाका संक्रमित बढ्न थालेपछि जिम्मेवारीबाट पन्छिँदै हदैसम्मको अवसरवादी चरित्र देखाएका भन्दै उनीहरुको सामाजिक सञ्जालमा तीव्र विरोध भएको थियो । 

यो विषयलाई लिएर सर्वसाधारणले सरकारको समेत आलोचना गरेका थिए । 

कर प्रकरण, विद्युतीय गाडी विषयको बजेटको व्यवस्था सम्बन्धी सूचना चुहाएको, विदेशी चकलेटमा भन्सार छुट दिएको लगायतका प्रकरणका कारण विवादमा मुछिएका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार नै बिमा समितिका अध्यक्षलाई फोन गरेर कोरोना बिमालेख नरोक्न निर्देशन दिएका थिए । यो बिमामा आउने दायीत्व सरकारले समेत व्यहोर्ने भन्दै निर्जीवन बिमा कम्पनीहरुलाई समेत ढुक्क बनाइएपछि स्थगनको २४ घण्टा नबित्दै पुनः सुचारु गर्ने सहमति भएको बिमा समितिस्थित स्रोतले बताएको छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमै कोरोना बिमाको व्यवस्था हुने विषय उल्लेख गरेको छ । सरकारले यस्तो बिमाको प्रिमियम ५० प्रतिशतले सरकारले व्यहोरिदिने घोषणा गरेको थियो । तर, निर्जीवन बिमा कम्पनीहरुले भने आफूहरुका लागि कुनै पनि सहुलियत नआएको र कोरोना बिमामा आफ्नो तर्फबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि सरकारले कुनै सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । कोरोना बिमा हठात स्थगनको निर्णयमा पुग्नु पछाडिको एउटा कारण यो असन्तुष्टि पनि थियो । तर, उनीहरुको असन्तुष्टि सरकारले सम्बोधन गरिदिएपछि कोरोना बिमालेख पुनः सुचारु हुने भएको हो । 

यस्तो छ बिमालेखको विशेषता
यो १ वर्षे बीमा अवधिको योजनाअन्तर्गत व्यक्तिगततर्फ १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५०० रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था छ। परिवारकै बीमा गर्ने हो भने १ लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँका लागि ३०० सय रुपैयाँ रकम तिर्नुपर्ने बीमा समितिले व्यवस्था गरेको छ । 

बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिए यो योजनाअन्तर्गतको बीमा दाबी भुक्तानी हुने व्यवस्था गरिएको थियो ।