काठमाण्डौ । राम्रो जागिर होस् । अनि एउटा सुन्दर घर होस् अनि सुखी परिवार होस् । आम मानिसको योभन्दा अरु चाह के होला र ? यो चाहना तपाइँको एउटा निर्णय पूरा हुन सक्छ भन्दा पत्यार नलाग्ला। तर आम मानिसको यी सबै चाहना पूरा गर्दै ग्रिस सरकारले।

ग्रिसको क्रेट आइल्यान्डस्थित एन्टिकेथेरा सहरमा जनसंख्या बढाउनका लागि त्यहाँको सरकारले यी यस्तै विषय समेटर नयाँ योजना सार्वजनिक गरेको छ । एन्टिकेथेरा सहरमा बसोबास गर्ने इच्छा जाहेर गर्ने मानिसले अब सित्तैमा एउटा घर र तीन वर्षसम्म ५६५ डलर तलब पाउने नयाँ योजना ग्रिस सरकारले सार्वजनिक गरेको हो ।

एन्टिकेथेरा सहर सफा पानी र ठूलठूला चट्टानाका लागि प्रख्यात छ । यो सहरमा पर्यटक धेरै आउँछन् । तर २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सहरमा केवल २४ जना बसोबास गर्छन् ।

यही कारणले छिटै यो सहर मानवशून्य हुने अवस्थामा आउन सक्ने खतरा बढ्दै गएको छ । त्यसैले ग्रिस सरकारले यो खतरालाई टार्न यस्तो योजना सार्वजनिक गरेको हो ।

त्यसो त ग्रिस सरकारको यो योजनालाई केही मानिसले मन पराएका छन् । त्यसैले हालसम्म ४ परिवारले त्यहाँ बसोबास गर्न आवेदन दिएका छन् ।

मानिसको बसोबास बढाउन त्यहाँ बन्द अवस्थामा रहेको स्कुल पनि खोलिएको छ । स्कुल खुल्नासाथ त्यहाँ अहिले बसोबास गरिरहेका मानिसलाई निकै राहात महसुस भएको छ र उनीहरुलाई विश्वास हुन थालेको छ कि अब यहाँ चहलपहल बढ्नेछ ।

बसोबास विस्तारका लागि सरकारले त्यहाँ बैंकिङ, फार्मिङ, फिसिङ र कन्स्ट्रक्सनसँग जोडिएका मानिसहरुलाई आवेदन दिन सरकारले आह्वान गरेको छ । यो सहरमा बसोबास गर्ने मानिसले केही सर्तहरु भने मान्नुपर्नेछ । –एजेन्सी